यसै पीडित छन् मधेसका बुहारी

यसै पीडित छन् मधेसका बुहारी

राजविराज, १६ असाेज । वोदे वरसाइन नगरपालिका–८, काचनकी २५ वर्षीया रन्जुदेवी साह र राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १९ वर्षीया प्रेमकला ठाकुर तीन दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छन् ।
ठाकुरलाई बेड नम्बर २७ मा राखिएको छ भने बेड अभावमा साहलाई भुइँमै राखेर उपचार गरिँदै छ । साहले भैंसीलाई टुनामुना गरेको भन्दै छिमेकी जामुन र गोकुल यादव (दाजुभाइ)ले कुटपिट गरेको बताइन् ।
यादव दाजुभाइले पालेको भैसीले केही दिनयता दूध कम दिन थालेपछि तैंले टुनामुना गरिस् भन्दै टर्च र लाठीले निर्घात कुटपिट गरेको साहले सुनाइन् । प्रहरीमा उजुरी दिएको साहले बताइन् । इलाका प्रहरी कार्यालय वोदे वरसाइनका सई विनोद चौधरीले बोक्सीको आरोपमा कुटिएको हो कि वा कुनै पुरानो रिसइबीका कारण त्यस्तो आरोप लगाइएको हो, दुवै कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको बताए ।
यता, बेड नम्बर २७ मा रहेकी ठाकुरले विवाह दर्ता र नागकिता बनाइदिन आग्रह गर्दा सासूससुरा र श्रीमान्ले निर्घात कुटपिट गरेको बताइन् । उनका भित्री अंगहरूसहित छाती, ढाड, हात, खुट्टा, कम्मर, पेटलगायत शरीरका अधिकांश भागमा चोट रहेको अस्पतालले जनायो ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । सप्तरीमा यस्ता घटना दिनहुँ हुन्छन् । बुहारीलाई यस्ता आरोपमा मात्र होइन, दाइजो नल्याएको निहुँमा पनि यातना दिने क्रम कम छैन । अस्पतालमा रहेका कतिपय बिरामी महिला घरेलु हिंसामा परेका छन् । तर, उनीहरू बताउन चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्