एक नम्बर प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा नेकपा भित्रै मत विभाजन

एक नम्बर प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा नेकपा भित्रै मत विभाजन

विराटनगर, १६ असोज ।
प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने बारेमा नेपाल कम्युनिष्ट पार्टी भित्र मत बाँझिएको छ । बिराटनगर राजधानी बनाउने पक्षमा केही संसदहरु देखिएको भएपनि पहाडी जिल्लाका संसदहरुले प्रदेशको राजधानी ईटहरी आसपास हुनु पर्ने प्रस्ताव संसदीय दलको बैठकमा राखेका छन् । हिजो दिउँसो देखि बिराटनगरको फन एण्ड फुड रिसोर्टमा शुरु भएको नेकपा संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीको बिषयमा छलफल भएको हो । छलफलको क्रममा पहाडी जिल्लाका संसदले ईटहरी आसपास हुनुपर्ने बताएपनि अरु सांसदहरु भने बिराटनगर नै राजधानी हुनु पर्ने पक्षमा देखिएका छन् । नेकपा संसदीय दल भित्र नै राजधानीको बारेमा अन्तरबिरोध देखिएको छ । संसदीय दलको बैठक पछि प्रदेशको राजधानी पहिलो चरणमा प्रस्तावको रुपमा लैजाने प्रदेश सरकारको तयारी अनुसार सांसदहरुसँग राय लिने काम भएको हो ।
बैठकको क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शेरधन राईले सबैको धारणा सुन्ने काम भईरहेको बताए । उनले राजधानी अन्यत्रै लैजाने बिषयमा भएको हल्लाले अहिले भईरहेको गृहकार्यलाई नै असर पार्ने खालका गतिबिधि हुन लागेको भन्दै चिन्ता ब्यक्त गरे । उनले राजधानी कतै जानसक्ने अबस्था नरहेको र यसैलाई स्थायित्व गरेर अन्य सहरलाई समेत सम्बोधन गर्ने गरी स्थायी राजधानी तोकिने बताए । बैठकमा सबै सांसदहरुले आफ्नो धारणा राख्ने काम भएपछि त्यसैको आधारमा प्रदेशको नाम र राजधानीको प्रस्ताव संसदमा लैजाने उनले बताए ।
एक नम्बर प्रदेशमा नेकपाको दुई तिहाई रहेकोले प्रदेशको स्थायी राजधानी र नाम तोक्नको लागि सहज हुने अनुमान गरिएको भएपनि नेकपा भित्रै मत बाँझिए पछिसमस्या देखिएको छ । तर अबको केही दिन भित्रै एक नम्बर प्रदेशको नाम र राजधानीको बिषयले संसदमा प्रबेश पाउने देखिएको छ । एक नम्बर प्रदेशको नाम कोशी, सगरमाथा तथा किराँत प्रस्तावको रुपमा आएको छ । त्यस्तै स्थायी राजधानी बिराटनगर, ईटहरी र धनकुटा प्रस्तावको रुपमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्