काठमाडौं,१८ असाेज। नक्खु कारागारमा बुधबार बिहान कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारगारको डीआरसी ब्लकमा रहेका एक बेलायती कैदी भित्र थिएनन् ।
सुरुमा कर्मचारीले उनी शौचालय गएको अनुमान गरे । तर केही बेरपछि नै मुकदुर हुसेन जेलबाट भागेको पत्तो लाग्यो ।
कारागार स्रोतका अनुसार ओभर स्टेबापत २०७४ जेठदेखि थुनामा रहेका हुसेन जेठ २२ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट नख्खु पुर्याइएका थिए । उनी रातको १ देखि २ बजेको बीचमा भागेको हुन सक्ने कारागार प्रशासनको अनुमान छ ।
प्रहरीले उनलाई बिहान साढे ७ बजेतिर पुल्चोक नजिकैबाट फेरि नियन्त्रणमा लिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।