नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौँ, असोज २३ गते । विश्व बैङ्कले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कको अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेट प्रतिवेदनले यस वर्षको वृद्धिदर छ प्रतिशत औसतमा रहने उल्लेख गरेको हो । सङ्क्रमणकालीन सङ्घीयताले पूर्वाधार व्यवस्था र सेवा प्रवाहमा असर पारे आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहने पनि प्रतिवेदनमा जनाइएको छ । सरकारले चालू आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा गरेको छ ।
प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर माल्दिभ्सको आठ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । बङ्गलादेशको ७.९, भारतको ७.३, पाकिस्तानको ५.८, भुटानको ४.६ र श्रीलङ्कको ३.९ प्रतिशत रहने उल्लेख छ । सबैभन्दा कम अफगानिस्तानको २.४ प्रतिशतको मात्र वृद्धिदर रहने अनुमान रहेको छ ।
प्रतिवेदन अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ६.९ प्रतिशत पुग्ने जनाइएको छ । उक्त वृद्धिदरसहित दक्षिण एसिया विश्वमै सबैभन्दा छिटो आर्थिक वृद्धिदर हुने क्षेत्रका रूपमा उदाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले व्यापार युद्ध तथा पुँजी पलायनजस्ता बाह्य प्रभावका कारण आर्थिक वृद्धिदर चुनौतीपूर्ण हुन सक्ने भएकोले आर्थिक नीति र वित्तीय अनुशासनमा ध्यान पु¥याउन दक्षिण एसियाली मुलुकलाई सुझाव पनि दिएको छ । दक्षिण एसियाली राष्ट्र कम कर सङ्कलन गर्ने र व्यापक बजेट घाटामा रहने पनि प्रतिवेदनमा उल्लेख छ । ४.४ प्रतिशत कुल गार्हस्थ उत्पादनसहित दक्षिण एसिया विश्वमै सबैभन्दा धेरै वित्तीय घाटामा रहने क्षेत्रमध्ये दोस्रो स्थानमा रहने पनि प्रतिवेदनमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्