एक नम्बर प्रदेश सभाको बर्खे अधिबेशन अन्त्य, पत्रकारसँग मुख्यमन्त्रीको आक्रोश

एक नम्बर प्रदेश सभाको बर्खे अधिबेशन अन्त्य, पत्रकारसँग मुख्यमन्त्रीको आक्रोश

विराटनगर, २३ असोज ।
एक नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै सभा अन्त्य गरेको छ । गत जेठ १७ गते देखि शुरु भएको बर्खे अधिबेशन ५२ वटा बैठक पुरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिबेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिईएको थियो । सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोईराला, संघीय समाजवादी फोरमका जयराम यादव तथा राप्रपाको तर्फबाट एक मात्र सांसद ईन्दीरा राईले शुभकामना सहित सरकारको काम कार्वाही तथा अहिलेसम्म भएका प्रगतीको बारेमा बोलेका थिए ।नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री राईले शुरूमा सरकारले अहिलेसम्म प्रदेश सरकारले गरेका कामको बारेमा सदनलाई जानकारी गराए । उनले केही समय सरकारको काम कारवाही र सरकारको अप्ठ्यारोबारे जानकारी गराएपछि मिडियातर्फ केन्द्रीत भएका मुख्यमन्त्रीले लामो समयसम्म पत्रकार तथा मिडियाप्रति केन्द्रीत भए । उनले प्रदेश राजधानी बनाउन बृहत् विराट क्षेत्रको कुरा अघि सारिएको बताए । ‘विराट क्षेत्र बनाएर स्याटेलाइट सिटी, स्मार्ट सिटी, टुरिज्म सिटी, औद्योगिक तथा स्पोर्ट सिटीको अवधारणा र कृषि जोनको रुपमा अगाडि बढाउने उद्देश्य अघि सारिएको भएपनि केही साँघुरो सोच बोकेकाहरूको कारण समस्या आएको छ,’ उनले भने, ‘यस्ता सोचले आफ्नो ठाउँ बनाउन सकिँदैन ।’

संविधान सभाबाट ५ वर्ष ८ महिनामा टुंगो लाग्न नसकेको प्रदेशको स्थायी राजधानी र नामको दायित्व प्रदेश सभाको काँधमा आएकाले त्यति सजिलो नरहेको उनले बताए  । ‘यसलाई सरकारले सहजीकरण गरेको मात्र हो, यसको अधिकार सबै सदनमा रहेका ९३ जना निर्वाचित जनप्रतिनिधिभित्र रहेकाले यसलाई हलुका बनाएर सतहमा ल्याउने काम पत्रकारले गरेका छन्,’ उनले भने ।प्रदेशको नाम र राजधानीको विषय हल्का रुपमा सतहमा ल्याएर आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति आक्रोश पोखे । ‘न्यूनतम व्यावसायिक मार्यादालाई समेत ख्याल नगरी लेखेर प्रकाशित गर्ने काम भइरहेको छ,’ उनले भने, ‘वास्तवमै त्यो विषय त्यस प्रकारको सतहमा ल्याएर छलफल गर्ने प्रकाशनमा ल्याउने विषय हैन ।’

‘हामी त्यतिकै आएका छैनौ । हामी यहाँ नेपाल राष्ट्र बनाउन यस देशको राष्ट्रियता, राष्ट्रिय एकतालाई जोगाउन आएका हौं । देश र प्रदेश हाँक्ने अख्तियारी लिएर यहाँ आएका सदस्यलाई चुनौति दिने मानमर्दन गर्ने र लाञ्छित गर्ने कुरा प्रदेश सभाका निमित सह्य हुन सक्दैन र प्रदेश सभाले गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने । उनले पत्रकारप्रति लक्षित गर्दै भने, ‘विवेक छैन, तर्कमा तर्क गर्न सकिँदैन स्पष्ट बहस गर्न सकिँदैन भने चुप लागेर बस्दा हुन्छ । तर, यस विषय र यस मामिलाको बारेमा जुन प्रकारको अस्वस्थ, जुन किसिमको निच स्तरको गतिविधिहरू अभिव्यक्तिहरू प्रकाशित समाचाहरू हामीले देखिरहेका छौं, त्यो राम्रो कुरा हैन ।’

मुख्यमन्त्रीको ट्याग र नाम लेखाउन आफू नआएको, अनुचित लाभको लागि नआएको भन्दै उनले अलिकति बोल्दा कलम चलाउँदा विचार गरेर आफ्नो मर्यादा, आफ्नो हैसियत र आफ्नो व्यावसायिकतालाई जोगाएर लाग्न आग्रह गरे ।

संवैधानिक दायित्वको बारेमा प्रदेशसभा सचेत रहेको दाबी गर्दै प्रदेश सभाका सबै दल र सांसदबीच गम्भीर छलफल भइरहेको बताए । ‘हामीले यसै चालू अधिवेशनबाट राजधानी र नाम टुंग्याउने तयारीसहित प्रदेश सरकारले तयारी गरिरहेको थियो । २६ गतेसम्म प्रदेशको राजधानी र नामाकरण टुंग्याउने विषयमा प्रस्ताव ल्याएको भएपनि सबै दलको छलफल र परामर्शबाट विषय गम्भीर भएकाले तेस्रो अधिबेशनमा लग्न खोजिएको हो,’ उनले भने, ‘यस प्रकारको विषयको गम्भीरता, थप समयको माग, चाडपर्वको चापले ती विषय छताछुल्ल नबनाई उच्च सहमतिको आधारमा लैजाने संसदमा सहभागी दलसँग सहमति भएको छ ।’

प्रदेशको नाम र राजधानीको विषयलाई तेस्रो अधिवेशनबाट शुरूबाटै विधिवत् सदनमा प्रवेश गराई टुंग्याउने दाबी गरे । ‘दलहरूबीच समझदारी छ, यस्तो सुझबुझ देख्दा देख्दै विषयवस्तुलाई बंग्याउने, हल्का बनाउने काम भइरहेको छ । म दुःख मात्र व्यक्त गर्न सक्छु,’ उनले भने, ‘उसका र यसका कारणले हैन यसमा बल पुर्याउनुस् सहजताका कारण हामी अघि बढ्न चाहन्छौं ।’

मुख्यमन्त्री मिडियाप्रति थप आक्रोशित देखिए । उनले यसलाई मिडियाले बल पुर्याउने काम गरिदिन आग्रह गरे । उनले भाँजो हाल्ने कुरा र नभएको कुरालाई सपनामा समाचार लेख्ने गरेको आरोप लगाए ।  उनले भने, ‘के तपाईहरू सपनामा सोचेर समाचार लेख्नुहुन्छ ? कि कुन मनस्थितिमा तपाईहरू भनेका कुराहरू लेख्नुहुन्छ । त्यसकारण हामी समझदारीबाट अघि बढिरहेका छौं । विषयवस्तुलाई मिलनबिन्दु खोजेर सबैको सहमतिको आधार तय गरेर अघि बढ्न चाहन्छौ । यो हाम्रो सम्बोधन हो, सक्नुहुन्छ भने हाइलाइट गर्नुस्, हामी समग्र जनताको भावनालाई प्रतिनिधित्व गर्दै अघि बढ्दै छौ, सक्नुहुन्छ योगदान गर्नुस् नसक्दा आफ्नो कमजोर स्तरहीन हैसियत प्रदर्शन गर्ने कुराबाट जोगिनुस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्