शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला

शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला

काठमाडौं । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन् ।

नारायणहिटी संग्रहालय पुग्ने सर्वसाधारणले अब सो संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्य–मुख्य सामग्रीहरु राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन् ।

समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले श्रीपेचको प्रदर्शनी भएको दिनलाई नेपालको इतिहासको स्मरणीय दिनको रुपमा चित्रण गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले ५२ वटा कक्ष रहेको सो संग्रहालयको अरु कक्षहरु पनि क्रमशः सार्वजनिक गर्दै लैजाने योजना सुनाए । 

अवलोकनका लागि राखिएको सो श्रीपेचमा ७ सय २३ वटा हिराको दाना, २ हजार ३ सय ७२ वटा मोतीका दाना, ४७ वटा पन्ना, १६ वटा मणिमाणिक्यजस्ता रत्न जडित रहेका छन् । शाहवंशीय राजाहरुले शक्तिको प्रतीकको रुपमा श्रीपेच र राजदण्डलाई धारण गर्ने गर्दथे । पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्वराजा वीरेन्द्र शाहका लागि तयार गरिएको थियो । काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा यो श्रीपेच तयार गरेका हुन् ।

शाहवंशीय राजा राजेन्द्र वीरविक्रम शाहदेवको पालादेखि चलनमा ल्याइएको श्रीपेच राजाहरुले राज्यरोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा तस्बिर खिचाउने बेला शीरमा लगाउने चलन थियो । शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा गणतन्त्र स्थापना भएसँगै दरबार छोडेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी सो दरबारलाई नारायणहिटी संग्रहालयको रुपमा घोषणा गरेका थिए । 

२०६५ साल फागुन १५ गते सर्वसाधारणका लागि खुला गरिएको सो संग्रहालयमा राजदरबारसँग सम्बन्धित धेरै सामग्रीहरु सर्वसाधारणले अवलोकन गर्दै आएका थिए । वर्तमान सरकारले आवश्यक सुरक्षाको व्यवस्थाप गरी राजदरबारको सबैभन्दा महत्वपूर्ण सामग्री श्रीपेचलाई आजबाट सर्वसाधारणका लागि अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेको हो । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ । नेपालको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच विश्वकै लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्