गरिखानेका कुरा : न दशैले छोयो, न चहलपहल नै ! उराव समुदाय सधैंझै माछासँगै रमाए

गरिखानेका कुरा : न दशैले छोयो, न चहलपहल नै ! उराव समुदाय सधैंझै माछासँगै रमाए

विराटनगर, ६ कात्तिक ।– दशैं ! सबै माइत, मामाघर तथा ससुराली र आफन्तसँग आशिर्वाद लिन आउजाउ गर्नेको बाक्लो भीड । राजमार्गमा सवारीसाधन बाक्लै गुडिरहेका । राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ ठूला पानी जम्ने खाडलहरू । त्यही खाडलमा माछा मार्दै गरेको ठूलो समूह । सडकमा को आए वा गए उनीहरूलाई कुनै मतलव नै छैन । त्यो समूह आफ्नै सुरमा माछा मार्न व्यस्त देखिन्थ्यो । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा पर्ने राजमार्ग खण्डको छेउमा रहेका खाडलमा सोमबार दिउँसो करीब ४० जनाको संख्यामा आएका उराव समुदायका व्यक्ति माछा मार्न व्यस्त थिए ।

हरेक दिनको खान्कीमा माछा नभई नहुने उराव समुदायका व्यक्ति सामुहिक माछा मार्न बढी मन पराउँछन् । झण्डै ४० जनाको समूहमा माछा मारिरहेको ठाउँमा बृद्धदेखि बालबालिका पनि देखिन्थे ।

भोक्राहा गाउँपालिका–४ ठिटुटोलका कृष्ण उराव पत्नी दिलकुमारी उरावलाई लिएर सिटी सफारीमा हुइँकिँदै आइपुगे । उनको सिटी सफारीमा उनकी पत्नी मात्र थिइनन्, उनीसँगै भाउजु अञ्जुदेवी उराव र उनका भतिजा पनि सँगै थिए । सबै माछा मार्ने ठाउँमा झरे । सिटी सफारीमा चढेर आएका सबै नियमित काम माछा मार्न लागे भने कृष्ण सडकमा पर्खिरहेका थिए ।घरमा खानको लागि माछा मार्न पत्नी र भाउजुलाई माछा मार्ने ठाउँमा छाड्न आएको उनले बताए । मारेको माछा खानको लागि निक्कै मिठो हुने गरेकाले हरेक दिन माछा मार्ने ठाउँमा उनीहरूलाई  पुर्याउने र आफू सिटी सफारी चलाउन जाने गरेको उनले बताए ।

‘हरेक दिन माछा चाहिन्छ, यही सिजनमा माछा पाउने भएकाले हरेक दिन नै माछा मार्नको लागि श्रीमतीलाई पठाउँछु,’ उनले भने, ‘घरमा त्यतिकै बस्नुभन्दा श्रीमतीलाई यसरी ल्याएर छाड्दा बेलुका फर्किने बेला केही माछा जम्मा हुन्छ । साँझ मिठो मानेर माछा खान पाउने भएकाले परिवार नै खुशी भएर माछा मार्न आउँछन् ।’

कतिपयले मारेको माछा घरमा लगेर बेच्ने गर्छन् भने कतिपयले आफ्नै घरमा खानको लागि मात्र दिनभर माछा मार्नमा व्यस्त हुने गरेका छन् । धेरै जनाको समूहमा माछा मार्दा माछा एक ठाउँबाट अर्को ठाउँमा उम्किएर जान नपाउने ७२ वर्षीय शुक्रु उरावले बताए । ७२ वर्षीय शुक्रु ३ जनाको परिवारसहित माछा मार्न आएका थिए ।

माछा मार्न आउँदा १ जनाको परिवारबाट ४ जनासम्म आउने गरेका उनले बताए । कसैको परिवारबाट १ जना मात्र आउने गरेको भएपनि अधिकांशको २ जनाभन्दा बढी नै माछा मार्न आउने गरेका छन् ।धेरै महिलाको बिचमा घरमा फुर्सदिला पुरुष पनि रहेका छन् । हजुरबादेखि नातिसम्मको जनजीवन माछा मार्ने अनि साँझ घरको तरकारी चलाउने मात्र हैन, कतिपयको आम्दानीको स्रोत नै रहेको छ ।‘यसरी मारिएका माछा नजिकैको बजारमा लगेर बेच्दा माछाको मूल्य प्रतिकिलो ७ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ,’ शुक्रुले भने । ( प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्