मालिक्नीको कुटाईले बालकको हात भाँचियो, दाँत हल्लिए

<span class='c1'>मालिक्नीको कुटाईले बालकको हात</span> <span class='c2'>भाँचियो, दाँत हल्लिए</span>

दैलेख, ७ कात्तिक । होटलमा काम गर्ने बाह्र वर्षको बालकले १५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् ।

एकान्त ग्रामीण बस्ती भएको, पीडक पक्षले उपचारको वास्ता नगरेको कारण १८ दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई पहिल्यै सूचना गर्दा पनि उद्धारमा चासो नदिएको स्थानीय अधिकारकर्मीहरुको आरोप छ ।

प्राप्त विवरण अनुसार सल्यानको दार्मा गाउँपालिका–६ किमटाकुराका प्रकाश बुढाथोकीले आफू काम गर्ने होटलको गल्लाबाट रकम झिकेर भागेको आरोपमा होटल मालिक्नीले गरेको कुटपिटको क्रममा ती बालकको हात भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसबेलाको कुटपिटले दुई वटा दाँत पनि हल्लिएका पीडित बालकले बताए ।

‘दसैँमा घर जाँदा १५ सय दिनुहोला’ भनी आग्रह गरेका बालकलाई दसैँमा जान नदिने कुरा गरेको कारण असोज १८ गते बिहान करिब १० बजेतिर भागेकामा छिमेकी कृष्णा शाहीले रोकेर बोलाएपछि शान्ति शाहीले मूल सडकमै लछारपछार गर्नुसँगै टेबुलमा हात राखेर दाउराले हिर्काउँदा प्रकाशको देब्रे हातको नाडी भाँचिएको हो ।

हात भाँचिएपछि बालकले ल्याएको भनिएको १५ सय लिएर ‘जहाँ जान्छस् जा’ भन्दै गलहत्याएर सुर्खेत जाने बाटोतर्फ धकेलेपछि बालकले रुँदै सियालाबाट पैदल ३ किलोमिटर टाढा नाउली भन्ने ठाउँमा कृष्णबहादुर शाहीको घरमा आश्रय लिएको बताइएको छ । स्थानीयले बालकको उपचार गर्न होटल मालिक्नीलाई भने पनि वास्ता नगरेको र यसबारे प्रहरीलाई खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महत गुनासो गरे ।

होटल मालिकले बेवास्ता गरेको र त्यसरी भाँचिएको हात ढिलो उपचार गर्दा झनै जोखिम बढ्ने भएकोले स्थानीयहरुले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र यो घटना सार्वजनिक भएको हो ।

प्रारम्भिक उपचारको प्रयास गरेका अहेव राजेशप्रसाद रिमालले बालकको देबे्र हातका नाडीका दुइटै हड्डी फुटेको बताए ।   बालकलाई कुटपिट गर्ने होटल मालिक्नीलाई बोलाइएकोमा उनका पति सुरेश शाहीसँग बालकको उपचारबारे जिल्ला प्रहरी कार्यालयमा भएको प्रारम्भिक छलफल भएको छ ।  छलफलपछि महिला तथा बालबालिका सेवा केन्द्रका प्रभा बिक र होटल मालिक शाहीसहित बालकको उपचार गराउन नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ को दफा १९२ को उपदफा (५)मा उपचारबाट निको हुने गरी अङ्गभङ्ग गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैंयाँ जरिवाना समेत हुने कानुनी व्यवस्था छ ।  त्यसैगरी १४ वर्ष मुनिका बालबालिकालाई बालश्रममा लगाउनेलाई ‘बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन २०५६’को दफा ३ ले तीन महिनासम्म कैद वा १० हजार रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्