विराटनगर भन्सारबाट पैठारी कम-राजस्व बढी,तीन महिनामा १० अर्ब बढी असुली 

विराटनगर भन्सारबाट  पैठारी कम-राजस्व बढी,तीन महिनामा १० अर्ब बढी असुली 

विराटनगर, ७ कात्तिक ।  अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो। गत आर्थिक वर्षको यही अवधिमा विराटनगर भन्सारको राजस्व सङ्कलनमा तयारी कपडाको योगदान सातौँ स्थानमा थियो। कडाइसँगै चालु आर्थिक वर्षमा पहिलो स्थान तयारी कपडाले ओगटेको हो। गत आर्थिक बर्षको असोज मसान्तसम्ममा कार्यालयले तयारी कपडाबाट २३ करोड ४५ लाख ९१ हजार सङ्कलन गरेको थियो। चालु बर्ष यसको दुई गुनाभन्दा बढी असुली भएको छ।

पैठारी कम, राजस्व बढी
तयारी कपडाको पैठारी विराटनगर नाकाबाट उल्लेखनीय रूपमा कम भएको देखिन्छ। तर राजस्व असुली भने दुई गुनाभन्दा बढी भएको छ।  चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ५४ लाख ३७ हजार थान तयारी कपडा विराटनगर नाकाबाट भित्र्याइएको छ। जबकी गत बर्षको यही अवधिमा विराटनगर नाकाबाट २ करोड ८७ लाख ८८ हजार थान तयारी कपडा पैठारी गरिएको तथ्याङ्क छ। तर राजस्व भने २३ करोड ४५ लाखका ठाउँमा ५५ करोड ८८ लाख भएको छ।

‘यसको मुख्य कारण भन्सार मूल्याङ्कनमा गरिएको वृद्धि नै हो’, कार्यालयका पुराना भन्सार एजेन्ट गुलाब शाहले भने, ‘नयाँ सरकार आएपछि भन्सार मूल्याङ्कनमा अचाक्ली वृद्धि गरिएको छ। पहिले सामान्यतया आयातकर्ताले घोषणा गरेको मूल्यलाई नै भन्सारले सदर गर्थियो। अहिले त्यस्तो छैन। त्यसैले राजस्वमा पहिलो योगदान तयारी कपडाले गरेको हो।’

भन्सार विभागले चालु आर्थिक वर्षका लागि जारी गरेको सन्दर्भ मूल्यसूचीमा पनि तयारी कपडाको मूल्याङ्कन वृद्धि गरिएको भनाइ एजेन्टहरूको छ। आयातकर्ताले भन्सारमा एक प्रकारको मूल्य समावेश भएको बिल पेश गर्ने तर बजारमा भने अधिकतम नाफा गर्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न आधिकारिक मूल्यलाई आधार बनाएर राजस्व तिराउन लागिएको भन्सार विभागका महानिर्देशक तोयम रायाको भनाइ छ।
विभागका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय ब्रान्ड प्रयोग गरेर आएका सामानको मूल्याङ्कन भन्सार विन्दुमा सक्कली सामानकै आधारमा गर्न थालिएको छ। जस्तै नाइक, एडिडास, जारा, बोस लगायतका सामान चीनमा ट्याग लगाएर पैठारी गर्ने प्रचलन थियो।
चीनबाट आयात हुने यस्ता सामानको भन्सार मूल्याङ्कन गत वैशाख महिनादेखि सक्कली सामानकै आधारमा भइरहेको छ। यस्तो भन्सार मूल्याङ्कनले नक्कली सामान ल्याएर सक्कली भन्दै विक्री गर्ने प्रवृत्तिमा कमी आएको विभागको दाबी छ। तयारी कपडाको पैठारी यसअघि सबैभन्दा बढी तातोपानी नाकाबाट हुने गर्थियो। तर २०७२ को भूकम्पले तातोपानी भन्सार र नाका क्षेत्र नै ध्वस्त बनाएपछि विराटनगर नाकाबाट पैठारी गरिँदै आएको छ। यसबाहेक, केही समययता थोरै मात्रामा केरुङ नाकाबाट पनि आयात भइरहेको विभागले जनाएको छ।

तीन महिनामा १० अर्ब बढी असुली 
कार्यालयले चालु बर्षको असोजसम्म १० अर्बभन्दा बढी  राजश्व असुली गरेर लक्ष्य पूरा गरेको जनाएको छ। कार्यालयले तीन महिनाको ९ अर्ब ३५ करोडको लक्ष्यमा १० अर्ब ५ करोड २८ लाख असुली गरेको हो।

गत आर्थिक वर्षको यही अवधिमा कार्यालयले ६ अर्ब ११ करोड ११ लाखको लक्ष्यमा ६ अर्ब ८७ करोड ३८ लाख सङ्कलन गरेको थियो। गत आर्थिक वर्षको पहिले त्रैमासिक अवधिमा विराटनगर नाकामा सबैभन्दा बढी राजस्व दिने मोटर साइकल चालु आवको सोही अवधिमा दशौँ स्थानमा समेत परेको छैन।

त्यस्तै गत बर्षको असोज महिनासम्ममा आयातमा नवौँ र दशौँ स्थान ओगटेका एलपी ग्यास र भटमासको कच्चा तेलले चालु आवको सोही अवधिमा त्यही स्थानलाई कायम राख्न सकेको छैनन्।  गत बर्ष टप टेनमा नपरेको अटोरिक्सा र टेम्पोको पैठारीले चालु बर्षको तीन महिनामा नवौँ स्थान पाएको छ। त्यस्तै गत बर्ष टप टेनमा नपरेको कपर वायरको आयात चालु बर्षको पहिलो त्रैमासिकमा दशौँ स्थानमा छ। (अनन्तराज न्यौपाने/विजमाण्डु डटकम )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्