विराटनगरका गोल्डेन र लाइफ गार्ड अस्पतालकाे लापरवाही, इमरर्जेन्सी वार्डमै म्याद गुज्रिएका औषधि

विराटनगरका गोल्डेन र लाइफ गार्ड अस्पतालकाे लापरवाही, इमरर्जेन्सी वार्डमै म्याद गुज्रिएका औषधि

विराटनगर, ९ कात्तिक । विराटनगरका दुईवटा नीजि अस्पतालले गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ। बिहीबार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विराटनगरका केही नीजि अस्पतालको इमरर्जेन्सी वार्डमा म्याद गुज्रेका औषधि प्रयोग हुने गरेको, अस्पतालको फोहोर जथाभावि भएको र सर्वसाधारणलाई दिइने १० प्रतिशत निःशुल्क शैय्या  (बेड)को व्यवस्था नगरेको फेला परेको हो। अनुगमनका क्रममा गोल्डेन अस्पताल र लाइफ गार्ड अस्पतालमा म्याद नाघेको औषधि भेटिएको छ। गोल्डेनको आकस्मिक कक्षमा (इमरजेन्सीमा ) प्रयोग हुने  औषधि तीन महिना अघि नैं म्याद नाघेको पाइएको थियो। उक्त औषधिको म्याद सन् २०१८ जुलाईमै सकिएको भए पनि हस्पिटलमा प्रयोग भइरहेको पाइएको हो। लाइफ गार्डमा आइसियु र एनआइसियुमा प्रयोग हुने औषधि इन्जेक्शन म्याद नाघेको भेटिएको थियो। अनुगमन टोलीले म्याद नागेको औषधि राख्ने अस्पताललाई सुधार गर्न निर्देशन दिएको छ। टोलीले गोल्डेन, न्यूरो हस्पिटल, लाइफ गार्ड अस्पताल र सप्तकोशी नर्सिङहोममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कुनै पनि अस्पतालले आफूले उत्पादन गरेको फोहोरको उचित व्यवस्थापन नगरेको पाइएको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका २०७० ले अस्पताल सञ्चालनका लागि फोहोर व्यवस्थापन गर्ने पूर्वाधार मिलाउनु पर्ने उल्लेख छ। तर अस्पतालले भने सबै फोहोर महाननगरपालिकाको डम्पिङ साइटमा फाल्ने गरेको पाइएको हो। निर्देशिकामा जोखिमपूर्ण फोहर व्यवस्थापनका लागि उपर्युक्त प्रविधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। कुनै अस्पतालले पनि फोहोर व्यवस्थापनमा संवेदनशिल भएको नदेखिएको उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताए। विराटनगरमा सञ्चालनमा रहेका निजी अस्पतालहरूलाई स्वास्थ्य निर्देशिका पालना गराउन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अनुगमन थालेको हो।

सरकारले निजी अस्पतालहरूका लागि जारी गरेको निर्देशिका पालना गर्न अटेर गरेको गुनासो बढेपछि सामाजिक विकासमन्त्री जीवन घिमिरेको निर्देशनअनुसार विशेष टोली बनाएर अनुगमन सुरु गरिएको थियो। मन्त्रालय मातहत रहेको जनस्वास्थ्य महाशाखा, चिकित्सा शाखा, उपभोक्ताकर्मी सम्मिलित बिशेष टोली अनुगमनमा परिचालन भएको छ। टोलीले दैनिक पाँचवटा निजी अस्पतालहरूको अनुगमन गर्ने र प्रदेशभरि अनुगमन गरिसकेपछि प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्ने बताइएको छ। प्रतिवेदनकै आधारमा मापदण्ड पालना नगर्ने अस्पतालहरूलाई के कस्तो कारबाही गर्ने निधो मन्त्रालयले गर्ने अनुगमन टोलीका प्रमुख दाहालले बताए। बिहीबार मन्त्रालयको अनुगमन टोलीले विराटनगरमा रहेका गोल्डेन, न्युरो, सप्तकोशी, विराटलगायतका अस्पतालको अनुगमन गरेको उनको भनाइ छ। अनुगमनका क्रममा एउटा अस्पतालले मात्रै १० प्रतिशत सिट असहायका लागि उपलब्ध गराएको बोर्ड राखेको पाइएको छ भने अनुमति दिएको बेड संख्याभन्दा बढी बेड राखेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्