दादरबैरियामा शुभकामना आदान प्रदानमा विवाद मिलाउन कांग्रेस कार्यकर्ताको नेतृत्वलाई सुझाव

दादरबैरियामा शुभकामना आदान प्रदानमा विवाद मिलाउन कांग्रेस कार्यकर्ताको नेतृत्वलाई सुझाव

विराटनगर, १० कात्तिक । समस्याको रुपमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् । नेपाली काँग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान दाँदरबैरियामा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका केन्द्रीय नेतालाई तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधिसम्मत राजनीति गर्न सुझाव दिएका हुन ।
कार्यक्रममा काँग्रेसमा समाहित भएको तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष तथा हाल काँग्रेसका नेता विजयकुमार गच्छदारसहितका सहभागी नेतालाई एकताको वास्तविक अनुभव दिलाउन सहभागीले आग्रह गरे । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा. डिला संग्रौला, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीलगायत नेता सहभागी थिए ।
वडा दसै, तिहार, छठलगायत पर्वको सन्दर्भ पारेर गरिएको कार्यक्रममा काँग्रेसका बुथ सभापति सलिम मियाँले भने,‘काँग्रेस एक भएर गाउँ पस्ने हो भने गुमाएको साख फिर्ता गर्न कठिन छैन तर नेता र नेतृत्व एकढिक्का हुन जरुरी छ ।’ जहदा गाउँपालिकाका काँग्रेस कार्यकर्ता महेन्द्रप्रसाद मण्डलले मनमुटाव र तिक्तता त्यागेर नेतृत्व अघि बढ्दै काँग्रेसमा रुपान्तरण गर्न जरुरी भएको बताए । भने,‘तल्लो तहमा रहेका समस्या समाधान गर्दै गए काँग्रेस अर्को पटकको चुनावबाट फेरि एक नम्बर पार्टी बन्न सक्छ ।’ काँग्रेस कार्यकर्ता दिना मण्डलले पार्टी प्रमुख विपक्षी हुँदा सबै चिज नगुमेको बरु सुधारिएर अघि बढ्ने ठूलो अवसर प्राप्त भएको सुझाव दिए ।
ट्रेड युनियन काँग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले काँग्रेस नयाँ विधानको प्रतिक्षामा रहेको बताउँदै भने,‘व्यक्ति विशेष हावी हुने भन्दा विधि विधानले चल्ने पार्टी बनाउन जरुरी छ ।’ पूर्व सांसद उषा सरदारले पार्टीबीच एकीकरण भएकोले अब तलबाट समेत सबै पदहरु मिलाएर अघि बढ्न सुझाव दिइन ।
काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर अघि बढ्ने बताउँदै भने,‘अब नयाँ सोचका साथ अघि बढ्नुको विकल्प छैन ।’ उनले काँग्रेसको साख र विगत अझै दह्रो रहेको चर्चा गरे ।
काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेसको संगठनलाई सुदृढीकरण गर्न अब तल्लो तहसम्म अभियान नै चलाइने बताए । भने,‘काँग्रेस अब नयाँ सोच र जाँगरका साथ अघि बढ्ने छ ।’ सांसद डा. डिला संग्रौलाले पार्टी अब नयाँ हिसाबले अघि बढ्ने तर्खरमा रहेको बताइन । त्यस अवसरमा आमन्त्रिक केन्द्रीय सदस्य हसन अन्सारी,पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बू, नेपाल महिला संघकी मोरङ सचिव प्रमिला थापा, नेविसंघका केन्द्रीय सह–महामन्त्री कृष्ण कार्कीलगातले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्