विराटनगरकाे एकीकृत जाँचचौकी (आइसिपी)को १० दिनभित्र अस्थायी सञ्चालन हुने

विराटनगरकाे एकीकृत जाँचचौकी (आइसिपी)को १० दिनभित्र  अस्थायी सञ्चालन हुने

विराटनगर, १० कात्तिक। विराटनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)को अस्थायी सञ्चालन १० दिनभित्र सुरु हुने भएको छ ।
भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भन्सार ऐन बमोजिम बाधा–अडकाउ फुकाउने आदेश जारी गरी आइसिपीबाट ढुवानी गर्न स्वीकृति दिएको हो । विराटनगर भन्सारका प्रमुख मीमांसा अधिकारीका अनुसार आइसिपी क्षेत्रमा ढाट निर्माणको काम सकिनेबित्तिकै विभागको परिपत्र अनुसार ढुवानी साधनको आगमन तथा बहिर्गमन हुनेछ। ढाट निर्माणको काम धमाधम भइरहेको प्रमुख उनले बताए । विभागका अधिकृत चूडामणि शर्मा कट्टेलको हस्ताक्षरमा प्रेषित परिपत्रअनुसार नेपालतर्फ खाली गरिएका ढुवानीका साधन भारततर्फ जान पाउने छन् । परिपत्रमा भनिएको छ, ‘निकासी हुने सामान बोकेका ढुवानी साधनबाहेक अन्यका हकमा आइसिपीसँग सम्बन्धित व्यवस्थापनसित समन्वय गरी निकासी गेटमा नै भन्सारका कर्मचारीबाट भारततर्फ जाने खाली ढुवानीका साधनलाई चेकजाँच गरी छाड्ने । साथै सम्पूर्ण कार्यको व्यवस्थापन प्रमुख भन्सार अधिकृतले गर्ने ।’नेपाल आयल निगमले आयात गर्ने पेट्रोलियम पदार्थ तथा ग्यास बोकेका ढुवानीका साधनहरू, बल्कमा आयात हुने क्लिङ्कर, फलामजस्ता औद्योगिक कच्चा पदार्थ बोकेका ढुवानीका साधनमात्र आइसिपीको मार्ग हुँदै भन्सार कार्यालयसम्म ल्याउन दिने निर्देशन पनि विभागले दिएको छ । परिपत्रमा पैठारी हुने ढुवानीका साधनहरू बीच बाटोबाट अन्यत्र विचलन भई राजस्व चुहावट हुने जोखिम भएको हुँदा स्कर्टिङ गरेर मात्र भन्सार क्षेत्रमा ढुवानीका साधन ल्याउन निर्देशन दिइएको छ
। परिपत्रमा उल्लेखित ढुवानीका साधनबाहेक अन्य सवारी साधन र मालवस्तु आइसिपी हुँदै आयातनिर्यात हुन नदिन पनि सूचित गरिएको छ। आइसिपीबाट आउनेजाने सबारी साधन इन्ट्री गरेर मात्र छाड्न परिपत्रमा भनिएको छ । जाम खुकुलो हुने नेपालतर्फ खाली भएका ट्रक र कन्टेनर आइसिपीको बाटो हुँदै भारत जाँदा र  ट्याङ्कलरी तथा फलाम–क्लिङ्करजस्ता ‘बल्क आइटम’ लोड गरिएका ढुवानीका साधन आइसिपी हुँदै पैठारी गरिँदा सीमा क्षेत्रमा हुने जाम खुकुलो हुने विश्वास गरिएको छ ।

नेपालतर्फ पैठारी गरिएका सामन बोकेका साधनको लर्को जोगबनी सीमानाकाबाट १० किलोमिटर दक्षिण बथनाहासम्म हुने गरेको छ । सीमा नाका जोगबनीबाट २० किलोमिटर दक्षिणको भारतीय बजार फारबिसगञ्जमा कुनै पनि ट्रक वा टेलर आइपुगेपछि विराटनगर भन्सारको परिसरभित्र आइपुग्न कम्तीमा ५ दिन लाग्ने गरेको छ । अत्यधिक जामका कारण समयमा ट्रक र कन्टेनर आइनपुग्दा व्यवसायीले डिटेन्सनको मार खेपिरहनु परेको विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र परासरले बताए ।

विराटनगर भन्सारमा ढुवानीका साधनको व्यवस्थापन गरिरहेको ट्रान्स नेपालका प्रबन्धक गणेश घिमिरेले नेपालमा खाली भई भारततर्फ जाने ढुवानीका साधन दैनिक ४ सय देखि ४ सय ५० को हाराहारीमा हुने बताए । खाली ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कन सक्ने हुँदा जामको समस्या समाधान हुने घिमिरेको दाबी छ । त्यस्तै पेट्रोलियम पदार्थका ट्याङ्कलरी दैनिक ६० देखि ८० वटा, ग्यासका बुलेट १० देखि १५ वटा र क्लिङ्कर तथा फलामका कच्चा पदार्थ बोकेका ४० फिटे कन्टेनर २० देखि २५ वटा पनि आइसिपीको बाटो हुँदै आउँदा जाम अझ घट्ने उनले बताए।

नेपाल–भारत समन्वय समितिको बैठकपछि ढुवानीका साधनको जामले गर्दा नेपालतर्फको सीमा क्षेत्र रानी र भारततर्फको जोगबनीमा जनजीवन र आवतजावत अस्तव्यस्त रहँदै आएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले दुई हप्ताअघि नेपाल–भारत समन्वय समितिको बैठकले आइसिपीको सञ्चालन गरेर जाम हटाउन सहमति जनाएको बताए । बैठकमा केसीसहित नेपालतर्फबाट जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका अधिकारी, प्रमुख भन्सार अधिकृत लगायतको उपस्थिति थियो ।

भारततर्फबाट पनि विहारको अररिया जिल्लाका डिएम सहितका समकक्षीको उपस्थिति रहेको प्रजिअ केसीले जानकारी दिए । समन्वय समितिको बैठकले निर्णय गरेपछि सोहीअनुसार भन्सार विभागले आइसिपीको सञ्चालन गरेर ढुवानीका साधनको आगमन र वहिर्गमनका लागि मार्ग प्रशस्त गरिदिएको उनले बताए । तत्काल आइसिपीको अस्थायी सञ्चालन अनौपचारिक रूपमा मात्र गर्न थालिएको र यसको औपचारिक उद्घाटनछि पूर्ण अवस्थामा सञ्चालन गरिने भन्सार विभागले जनाएको छ । स्रोतका अनुसार सन् २०१८ भित्रै दुबै देशका प्रधानमन्त्रीले आइसिपीको संयुक्त उद्घाटन गर्ने गरी कामलाई तीव्र बनाइएको छ । (स्राेत - अनन्तराज न्यौपाने/ बिजमाण्डू डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्