बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम अझै सुरु हुन सकेन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम अझै सुरु हुन सकेन

सुनसरी, १३ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम २०१८ अझै सुचारु हुन सकेको छैन । प्रतिष्ठानको शैक्षिक क्यालेण्डरअनुसार गत सेप्टेम्बरदेखि नै कक्षा शुरू हुनुपर्ने हो, तर एमडी र एमएस अध्ययनका लागि आएका भारतीय एक विद्यार्थीले काउन्सिलिङमा सहभागी नगराएको भन्दै उच्च अदालत विराटनगरमा रीट निवेदन हालेपछि अदालतले भर्ना प्रक्रिया रोक्न भदौमा ‘स्टे अर्डर’ जारी गरेपछि पढाइ अवरुद्ध भएको हो ।

अदालतको पेशीमा उजुरीको किनारा नलागे पढाइ अन्योलमै रहने प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरू खनालले बताए । उनका अनुसार यस वर्ष मात्रै १ सय ६२ जना विद्यार्थी एमडी र एमएसका लागि भर्ना गर्ने तयारी थियो । उजुरीका कारण भारतीय कोटा खाली रहेको ठाउँमा नेपाली विद्यार्थीका लागि भर्ना प्रक्रिया अघि बढाउन समेत समस्या भएको उनले बताए ।

उनका अनुसार प्रतिष्ठानमा एमडी र एमएसको शैक्षिक कार्यक्रम २०१८को प्रोस्पेक्टसअनुसार अन्तरराष्ट्रिय कोटाको दोस्रो प्रवेश परीक्षापश्चात् काउन्सिलिङमा उजुरीकर्ता ढिलो आएकाले सहभागी नगराइएको हो । अदालतको आदेशले पढाइ प्रभावित बन्नुको साथै स्वास्थ्य उपचारमा पनि समस्या आएको छ ।

एमडी र एमएस तेस्रो वर्षका विद्यार्थीहरू परीक्षाको तयारीमा रहेकाले पहिलो वर्षका विद्यार्थीहरूले बिरामीलाई सेवा दिन सक्ने थिए । तर, भर्ना प्रक्रिया नै अघि बढ्न नसक्दा उपचार सेवासमेत प्रभावित भएको खनालले बताए । मुद्दाकै कारण खाली सीट रहेको अन्तरराष्ट्रियतर्फको १६ ओटा सिट नेपाली विद्यार्थीहरूको लागि परिवर्तन गरेर तेस्रो काउन्सिलिङ गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्