गौतमबुद्ध विमानस्थल, आठ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

<span class='c1'>गौतमबुद्ध विमानस्थल, आठ महिनाभित्रै</span> <span class='c2'>सञ्चालनमा ल्याउने तयारी</span>

भैरहवा, १४ कात्तिक ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी धावनमार्ग (रनवे) को कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । १६ जुलाई २०१९ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।  विमानस्थलमा रहेको तीन किलोमिटर ‘रनवे’को सबबेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले कालोपत्रेको काम सुरु गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग कालोपत्रे गर्ने कार्यको उद्घाटन गर्दै विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरेका छन् । ‘रनवे कालोपत्रेको काम ६ महिनाभित्र पूरा गर्न आयोजनालाई निर्देशन दिँदै अधिकारीले भने, ‘त्यसपछि विमानस्थल सञ्चालनमा आउँछ ।’ समयसमयमा विभिन्न अवरोध आए पनि हालसम्म विमानस्थल निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय भने विमानस्थल निर्माणको कामले तीव्रता पाएको छ । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडीबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थलको निर्माण कार्यको जिम्मा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले लिएको छ । विमानस्थल निर्माण कार्यअन्तर्गत अहिले निर्माण भइरहेको रनवे १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५÷१५ मिटर छाडिनेछ । ३ हजार मिटर लामो रनवेको दुवैतिर ३÷३ सय मिटर विमान सुरक्षाका लागि रनवे एन्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ ।

रनवे कालोपत्रेको काम ६ महिना नभएर चार महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । ६ महिनापछि विमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी निमित्त प्रमुख अधिकारी दिए । आन्तरिक उडानपछि सबै प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने उनले प्रतिबद्धता जनाए ।
मन्त्री अधिकारीले थाइल्यान्डलगायतका धेरै देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउन इच्छा देखाएकाले सरकारले पनि सोहीअनुरूप नयाँ सम्झौता यस विमानस्थलकै लागि भनेर गर्न पहलकदमी अघि बढाएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न सरकारले प्रक्रिया अघि बढाएकाले अब जतिसक्यो छिटो भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन र निर्माण कार्य पूरा गर्न आयोजनालाई दबाब रहेको जानकारी दिए । गौतमबुद्ध विमानस्थलप्रति अन्तर्राष्ट्रियस्तरको चासो धेरै देखिएको, जसले गर्दा भविष्यमा विमानको चाप धेरै हुने हुनाले आयोजनाले अहिले निर्माण पूरा गरेको पार्किङमा ६ वटा ठूला विमान मात्र अट्ने हुनाले थप ९ देखि १० वटा ठूला विमान अट्ने पार्किङ निर्माण गर्ने मन्त्री अधिकारीले बताए ।

त्यसैगरी, अधिकारीले हवाई रुटको जानकारी दिनेक्रममा बोल्दै चारवटा हवाई रुटमा सम्झौता गर्न वार्ता हुनेक्रममा रहेको बताए । अधिकारीका अनुसार सुरक्षाको दृष्टिकोणले गर्दा भारतले महेन्द्रनगर र नेपालगन्जको रुट दिन नमानेको तर सरकारले ती दुईवटा रुटको विकल्पमा भैरहवाको रुट मागेको उनले बताए ।
रुटको कारण अन्तर्राष्ट्रिय उडानमा ढिलाइ नहुने बताउँदै अधिकारीले निर्धक्क हुन आग्रह गरे । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
विमानस्थलको शिलान्यास तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले २०७१ सालमा गरेका थिए । तीन वर्ष अर्थात् २०७४ पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो । तर, मधेस आन्दोलन, नाकाबन्दी र ठेकेदारको आन्तरिक कलहले आयोजना निर्माण कार्य लम्बिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्