रंगेली अस्पतालमा ३ महिना देखि औषधि अभाव,पत्रको पर्खाईमा रंगेली नगरपालिका

रंगेली अस्पतालमा ३ महिना देखि औषधि अभाव,पत्रको पर्खाईमा रंगेली नगरपालिका

रविन्द्र बराल
रंगेली , १५ कात्तिक ।
मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पताल रंगेलीमा औषधि अभाव देखिएको छ । एकातर्फ अस्पतालमा डाक्टरको अभाव छ भने अर्को तर्फ तिन महिना देखि औषधि अभावहुँदा सेवाग्राही मारमा परेका छन् । विराटनगर देखि करिब २२ किलोमिटरको दुरीमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गराउन आएका सेवाग्राही त्यसै फर्किने गरेका छन् । नेपाल सरकारले सरकारी अस्पतालमा ७० प्रकारको औषधी निःशुल्क वितरण गर्ने जनाउँदै आएको भएपनि जिल्ला अस्पताल रंगेलीमा तीन महिना देखि सिटामोल समेत उपलब्ध हुन नसकेको संगिता देवि ऋिषिदेव बताईन् ।
एक त सरकारी अस्पताल भन्ने बितिकै आर्थिक अबस्था कमजोर भएकाहरु विपन्न परिवार मात्र जान्छन् भनिन्छ तर तिनै विपन्नले पनि नत निशुल्क औषधि पाउन सकेका छन् न त सहि उपचार नै । समयमा अस्पतालमा चिकित्सक नभेटिँदा हैरान भएका सर्बसाधारण औषधि नपाउँदा निराश भएर फर्किने गरेका छन् । उनले नाम जिल्ला अस्पताल भनिएपनि यहाँको सेवा स्वास्थ्य चौकीले दिने सेवा भन्दा तल्लो स्तरको रहेको रंगेली ६ का अनिरुद्र मण्डलले बताए ।
जिल्ला अस्पताल भएको कारण यस अस्पतालमा रंगेली नगरपालिका , सुनवर्सी नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सी नगरपालिका, कानेपोखरी गाउँपालिका सर्बसाधारण उपचारको लागि दैनिक आउने गरेका छन् ।
त्यस्तै भारतीय सिमा नजिक रहेको कारण भारतीय सिमा क्षेत्र कुर्साकट्टा, कुवाडिमा बसोवास गर्ने सर्बसाधारण सेवा लिन आउने गरेका छन् ।
अस्पतालको मुख्य गेटमा ७० प्रकारको औषधिको नाम सहितको तालिका राखिएको छ । तर औषधि नपाउँदा सर्बसाधारण क्लिनिकमा जानु पर्ने बाध्यता रहेको छ
आमा सुरक्षा कार्यक्रम प्रभाबित
नेपाल सरकारले जिल्ला अस्पताल रंगेलीमा आमा सुरक्षा कार्यक्रम लागु गरेको छ । तर आमा सुरक्षा कार्यक्रम पनि प्रभावकारी संचालनमा आउन नसकेको स्थानीय आरोप लगाउँछन् । महिला गर्भवती भएदेखि बच्चा जन्मिएसम्मको लागि सरकारले सबै सेवा निःशुल्क दिँदै आएको छ । तर रंगेली अस्पतालमा आएका गर्भवती महिलाले पैसा तिर्नु परेको गुनासो गरेका छन् । गर्भवती महिलाले सुत्केरी भए पश्चात पाउने यातायात खर्च समेत अस्पपतालले नदिने गरेको सेवाग्राहीको आरोप छ । रंगेली नगरपालिका ७ का बिक्रम मण्डलले आफ्नी श्रीमतीलाई सुत्केरी गराउन पुगेका उनले बिभिन्न शिर्षकमा १२ सय रुपैयाँ तिर्नु परेको सुनाए । बच्चा जन्मिएपछि पाउने यातायात खर्च अहिलेसम्म नपाएको उनले गुनासो गरे ।
अस्पतालमा जनशक्ति अभाव
जिल्ला अस्पतालमा उपलब्ध हुनु पर्ने सम्ुपर्ण सेवा उपलब्ध गराउने गरी रंगेली अस्पतालमा ठुलै लगानी गरिएको छ । अस्पतालमा आईसीयु, एनआईसियु, समेतको सेवा दिने भन्दै जाडान गरिएको लामो समय हुँदा समेत उक्त सामान प्रयोगमा आउन सकेको छैन । दक्ष प्राबिधिक नभएको कारण ति सामान बेकामे बनेका छन् । मेसु सहित ४५ जना को दरबन्दी रहेको अस्पतालमा अहिले २० जना मात्रै कार्यरत रहेका छन । जस मध्ये नासु १ जना, स्टाप नर्स ८ जनामा १ जना, हेल्थ असिस्टेन २ जनामा १ जना रहेका छन् । त्यसैगरी अहेव ४ जनामा १ जना, अनमी ४ जनामा सबै कार्यरत रहेका छन । लेखापाल १ जना सरुवा भए पछि हालसम्म नगएको , स्टोरकिपर खाली, प्रशासनको नासु खाली, रेडियो ग्राफर ५ जनामा ३ जना मात्रै रहेका छन ।
सरकारले अस्पताल परिसर भित्रे फर्मेसी खोल्नका लागि २ लाख रुपैयाँ रकम समेत उपलब्ध गराएको भएप्नि कर्मचारीको अभाव देखाउँदै फार्मेसी बन्द गरिएको छ । सरकारले उपलब्ध गराएको २ लाखबाट खरिद गरिएको औषधिको मिति गुज्रिने अबस्थामा पुगेको छ ।
दैनिक २ सय बढी सर्बसाधारण उपचारको लागि आउने जिल्ला अस्पतालमा औषधि अभाव हुन थालेपछि उपचार गराउन आउने बिरामीको संख्यामा कमी आएको छ 

निरिह स्थानीय सरकार
स्थानीय सरकार संचालनमा आएसँगै आफ्नो क्षेत्र भित्र रहेको स्वास्थ्य संस्थाहरु स्थानीय सरकार माताहत गएका छन् । तर यस बिषयमा रंगेली नगरपालिका मेयर दिलिप बगडियाले आफै अन्यौलमा रहेको बताए । मिडिया मार्फत सरकारी अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरेको सुनेको भएपनि अहिलेसम्म कुनै पनि आधिकारी परिपत्र नआएको उनले बताए । अस्पताल विकास समिति सक्रिय नहुदा समेत अस्पतालको अबस्था बिग्रिएको उनले सुनाए ।
आफुहरुलाई अधिकार नै नभए पछि अस्पतालमा गएर हस्तक्षेप गर्न नमिल्ने तर मेयरको हैसियत र नगरपालिका भित्र रहेको हुनाले आफुले ब्यक्तिगत रुपमा सहयोग गर्दै आएको सुनाए ।
नगरपालिकाले बजेट दिएन
अस्पालमा औषधि अभाव हुनुको कारण सिधै आउने रकम नगरपालिकालाई पठाएपछि औषधि खरिद गर्न नपाएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट उत्तम देवले संघीयता कार्यान्वयनमा गएसँगै अस्पतालमा आउने बजेट नगरपालिकाबाट आउने भएको हुँदा औषधी खरिदमा समस्या भएको बताए ।
अस्पतालबाटै हराउँछन् सामान
अस्पताल भित्र बाट औषधी, घराका टुटी लागयतका सामान समेत हराउने गरेको पाईएको छ । केही दिन अघि मात्र अस्पतालमा प्रयोग हुँदै आएको निबुलाईजर समेत हराएको एक कर्मचारीले बताए । यसरी सामान हराउनुको कारण कर्मचारीहरुले नै कोही नभएको मौका छोपी लग्ने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले सुनाए । तर सामान हराउँदा समेत मेसुले वास्तै नगर्ने गरेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्