तिहारमा २२ लाख थान फूलका मालाको माग

तिहारमा २२ लाख थान फूलका मालाको माग

सीता शर्मा

काठमाडांँ, कात्तिक १५ गते । नजिकिँदै गरेको तिहारमा सयपत्री, मखमली र गोदावरी गरी २२ लाख थान फूलका मालाको माग रहेको बताइएको छ । जसमध्ये १९ लाख थान स्वदेशी उत्पादनबाट र तीन लाख भारतबाट आयात गरी माग पूर्ति गर्ने गरी तयारी भइरहेको व्यवसायीले जानकारी गराएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फूलको पर्व तिहारमा सयपत्री मालाको माग करिब १५ लाख थान हुन्छ । जसमध्ये १२ लाख थान स्वदेशी उत्पादनले पूर्ति गर्छ भने बाँकी तीन लाख भारतबाट आयात गर्नुपर्छ ।
गोदावरी र मखमली मालाको करिब सात लाख थानको माग भएकोमा गोदाबरी फूलमा भने आत्मनिर्भर भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तिहारमा मालाको कारोबार करिब नौ करोड २५ लाख रुपियाँको हुनेछ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार वार्षिक एक अर्ब ८६ करोड ७१ लाख रुपियाँको फूलको कारोबार हुन्छ । एसोसिएसनका महासचिव पोखरेलले फूलको कारोबार बर्सेनि १० देखि १५ प्रतिशतसम्म बढेको जानकारी दिनुभयो । पछिल्लो समयमा फूलको निर्यातसमेत बढेको बताउँदै पोखरेलले गत आर्थिक वर्ष मात्रै दुई करोड ३७ लाख रुपियाँ बराबरको फूल वा फूलजन्य सामग्री निर्यात भएका थिए । 
नेपालबाट प्रायः फूलको गानो, टिस्युकल्चर गरिएको बिरुवा र कट्फ्लावर निर्यात हुने गरेको बताउँदै उहाँले ती फूलजन्य वस्तुको निर्यात मुख्यत कतार, संयुक्त अरब इमिरेट्स, जापान, अमेरिकालगायत मुलुकमा हुने गरेको जानकारी दिनुभयो । एसोसिएसनका अनुसार व्यावसायिक रूपमा फूलखेती सबैभन्दा बढी उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरसहित धादिङ र काभ्रेमा हुने गरे पनि पछिल्लो समयमा ४३ जिल्लामा लगभग ६७५ वटा फूलखेती तथा नर्सरी विस्तार भएको छ ।
नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएकोमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका महासचिव पोखरेलले नेपालमा लगभग १५५ हेक्टर क्षेत्रफलमा सातसय व्यवसायीले यसको खेती गर्दै आएको जानकारी दिनुभयो ।
तिहारमा महँगो नहुने
तिहारमा मालाको मूल्यवृद्धि नहुने एसोसिएसनले जनाएको छ । विगतको तुलनामा उत्पादन र आपूर्ति पनि सहज भएकाले मूल्यवृद्धि नहुने भन्दै पोखरेलले भन्नुभयो, आयात गरिएका फूलका मालामा सरकारले राजस्वमा पाँचबाट १० प्रतिशत पु¥याएकाले केही बढ्ने देखिए पनि त्यसले ठूलो असर पर्ने देखिँदैन । यस पटकको तिहारमा मालाको मूल्य प्रतिथान थोकमा ५० रुपियाँभन्दा बढी नपर्ने दाबी महासचिव पोखरेलको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्