झापा जिल्लाको सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना

झापा जिल्लाको सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना

झापा, १७ कात्तिक ।  झापा जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना हुन थालेका छन्। जसका कारण यो क्षेत्र असुरक्षित बन्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रमा लगातार भएका अपराधका घटनाले यहाँको सुरक्षा अवस्था पनि कमजोर रहेको पाइएको छ। पछिल्लो २ महिनामा यहाँ दुई जनाको हत्या भएको छ भने एक बलात्कारको घटना पनि सार्वजनिक गरेको छ। अघिल्लो महिना मात्र एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको  सीमावर्ती क्षेत्रको भारततर्फ नेपाली व्यक्तिको हत्या गरी पुरेको अवस्थामा फेरि अर्का एकको हत्या भएको छ। २ महिना बीचमा पश्चिम झापाको सिमावर्ती क्षेत्रमा दुई जनाको हत्या हुनुले पनि अपराधको श्रृंखला बढेको पाइएको हो। यसै क्रममा झापाको गौरीगञ्ज गाउँपालिका २ काेराबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव भारतीय क्षेत्रमा फेला परेको छ। इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले भारतको किसनगंज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको जानकारी दिए। राजवंशी ४ दिनदेखि बेपत्ता थिए। ४ दिनअघि उनी किसनगंज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएको मृतकका छोरा उदयलाल राजवंशीले बताए।

राजवंशीको शव नेपाल-भारत सीमादेखि ५०० मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पौडेलले बताए। काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ। ती सामग्रीका आधारमा आफ्नो बुबाको शव भएको मृतकका छोरा उदयलालले दाबी गरेका हुन्। अलकचन स्थानीय गाउँघरमा धामीका रुपमा झारफुकको काम गर्ने गर्थे। गौरीगंज गाउँपालिकामा नैं गत भदौमा पनि दमकका एक व्यवसायीको हत्या भएको थियो। झापाको कमल गाउँपालिका ६ घर भई दमकमा व्यवसाय गर्ने खेमराज पौडेलको हत्या भएको थियो। लगातार रूपमा बढेका अपराधका घट्नाले स्थानीयमा त्रास फैलिएको छ। उनीहरूले सुरक्षा व्यवस्था दर्विलो पार्न र अपराध नियन्त्रणका लागि प्रहरी, प्रशासनलाई गम्भीर बन्नसमेत माग गरेका छन्।

आफन्तबाटै बलात्कार : हत्याका घटनाबाट त्रास फैलिएको गौरीगंजमा आफन्तबाटै बलात्कार भएको घटना लामो समय पछि बाहिरिएको छ। गौरीगंज गाउँपालिका ६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगंज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्