प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान ,यस्ता छन् गन्तव्य !

प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान ,यस्ता छन् गन्तव्य !

विराटनगर, कात्तिक १८। संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो ।

सरकारले चालु वर्ष २०७५–७६ को बजेटको बुँदा १४४ मा पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको पहिचान र विकास गर्ने कुरा उल्लेख गरेको थियो । त्यसैका आधारमा पुराना र नयाँ गरी प्रदेश १ मा २९ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर र फुङफुङे झरना, इलामको सन्दकपुर–माइपोखरी, संखुवासभाको अरूण उपत्यका, धनकुटाको भेडेटार नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङबोचे र सगरमाथालाई स्थापित गन्तव्यका रूपमा उल्लेख गरिएको छ । त्यसैगरी ओखलढुंगाको पोकली झरना, झापाको बाँसबारी सीमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, वराहक्षेत्र र तालतलैया छन् ।

विकास गर्नुपर्ने नयाँ गन्तव्यमा ताप्लेजुङको तिङबुङ पोखरी, पाँचथरको गुरू फाल्गुनन्द सर्किट (लोब्रेकुटी–गजुरमुखी धाम–लारूम्बा– चुक्कीनाम्बा), इलामको फिक्कल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीजुरे–मिल्के–जलजले, संखुवासभाको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको ट्याम्केडाँडा (मुन्धुम ट्रेल), खोटाङको बराहपोखरीलाई राखिएको छ ।

सोलुखुम्बुको पाँचपोखरी, ओखलढुंगाको थोलेदुम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाको विर्तामोडस्थित सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, मोरङको धनपालगढी पर्यटकीय क्षेत्र र सुनसरीको पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्य तोकिएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट गन्तव्यहरू पहिचान गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरेको र प्राप्त आवेदनको अध्ययन र मूल्याकंनपछि सूची तयार गरिएको जनाइएको छ । सरकारले तय गरेको नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यमा चालु बर्षको विनियोजित बजेट खर्च गरिने विज्ञप्तिमा जनाइएको छ ।

संघीय सरकारले तोकेको नयाँ गन्तव्य र प्रदेश १ को सरकारले प्राथमिकतामा राखेका केही गन्तव्य भने एउटै परेका छन् । प्रदेश सरकारको चालु आर्थिक बर्ष २०७५–७६ को बजेटमा पर्यटन शीर्षक अन्तरगत दुई दर्जन स्थानलाई सुविधायुक्त पर्यटन स्थलका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । त्यसैगरी धार्मिक तथा पर्यटकीय पदमार्ग निर्माणमा समेत प्रदेश सरकारको प्राथमिकता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्