चाडपर्व, मदिरा र स्वास्थ्य – विनोद नेपाल

चाडपर्व, मदिरा र स्वास्थ्य – विनोद नेपाल

विनोद नेपाल

हाम्रो समाजलाई आधुनिकताले गाँज्दै लगेको छ । शहरी समाज त पश्चिमी प्रभावमा परी नै सकेको छ ग्रामीण समाज पनि विस्तारै आधुनिकतातर्फ लम्किँदैछ । यसक्रममा मानिसका लवाइ खवाइ, चालढाल, बोली व्यवहारमा क्रमशः परिवर्तन आउँदैछ । जीवनशैली र खानपानमा परिवर्तन आउँदैछ । वैदेशिक रोजगारी तथा शिक्षा आर्जनका लागि ठूलो सङ्ख्यामा बाहिरिएका नेपालीले बाहिरी मुलुकबाट देखेर र सिकेर आउने गरेका विभिन्न कुरा समाजमा प्रवेश पाउँदैछन् । यसले समाज परिवर्तनमा ठूलो भूमिका खेलेको छ । परिवर्तन नियमित प्रक्रिया हो र समाजमा परिवर्तनको आवश्यकता पनि पर्छ तर मौलिकता बिर्सेर अर्काको अपनाउनु वा सामाजिक, सांस्कृतिक परिवेश नसुहाउँदो शैली अपनाउनु उचित हुँदैन । आफ्नो आर्थिक हैसियत बिर्सेर देखासिकीमा गरिने कतिपय क्रियाकलापले अप्ठेरोमा पनि पार्छ ।
यसै क्रममा हामीकहाँ आधुनिकताको नाममा अचेल देखासिकीमा बढेको चलन हो– मदिरा सेवन । त्यसो त कतिपय समुदायमा सामाजिक संस्कार तथा धार्मिक, सांस्कृतिक अवसरमा मदिरा अनिवार्य नै हुन्छ । ती समुदायले आफैँले तयार गरेका घरेलु मदिराको प्रयोग गरेर यस्ता कार्य सम्पन्न गर्छन् । तिनको सम्बन्धमा टीकाटिप्पणी गरिरहनुको औचित्य छैन तर त्यस किसिमका संस्कार र संस्कृति नभएका वा मदिरा आवश्यक नपर्ने समुदायले पनि अचेल मदिरालाई चाडपर्व, भेटघाट वा उत्सव समारोहमा अनिवार्यजस्तै बनाउन थालेका छन् ।
पहिले पहिले बन्ने घरेलु मदिरा गुणस्तरीय र शुद्ध हुन्थे । अहिले पनि घरायसी प्रयोजनका लागि बन्ने त्यस्ता मदिरा अवश्य शुद्ध नै हुन्छन् तर व्यापारिक प्रयोजनका लागि बन्ने घरेलु मदिरा कसरी बन्छन् भन्ने हामीले बेलाबेलामा सुन्दै आएकै छौँ । अनुगमनका क्रममा कहाँकहाँ के के भेटिए भन्ने पनि सुनेकै छौँ । यसैले ग्रामीण क्षेत्रमा सम्भव भए पनि अहिले बजार क्षेत्रमा शुद्ध घरेलु मदिरा पाउनु कठिन छ । त्यसरी बनेका मदिराले स्वास्थ्यमा कस्तो असर पार्ला सहजै अनुमान गर्न सकिन्छ । 
हाम्रो समाजमा मदिराको चलन निकै बढेको छ र यसलाई केही हदसम्म समाजले स्वीकार गर्दै पनि गएको छ तर यससँगै मदिराको खतरनाक असर पनि बढ्दै छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा मदिरा र स्वास्थ्य स्थितिसम्बन्धी हालै सार्वजनिक एक प्रतिवदेनले यही बताउँछ । मदिराको बढ्दो प्रयोग र यसको सामाजिक असरका सम्बन्धमा भएको अनुसन्धानको नतिजा यस्तो छ ः
विश्वमा हुने सबै किसिमका मृत्युमा मदिराको हिस्सा ५३ छ । विश्वमा सन् २०१६ मा मदिराको कारण ३० लाख मानिसको मृत्यु भयो । यसमा २३ लाख पुरुष र सात लाख महिला थिए । सो वर्ष मदिराको कारण भएको मृत्युमध्ये २८ दशमलव ७ प्रतिशत चोटपटकको कारणबाट भएको थियो जवकि २१ दशमलव ३ प्रतिशत पाचनसम्बन्धी रोगका कारण र १९ प्रतिशत हृदयरोगका कारणबाट । यसैगरी १२ दशमलव ९ प्रतिशत सङ्क्रामक रोगबाट र १२ दशमलव ६ प्रतिशत मृत्यु क्यान्सरबाट भएको थियो । अझ डरलाग्दो तथ्याङ्क त के छ भने २० देखि २९ वर्षको उमेर समूहमा हुने मृत्युमध्ये १३ दशमलव ५ प्रतिशत मदिराकै कारण हुन्छ । मदिराको कारण सडक दुर्घटनामा परी सन् २०१६ मा तीन लाख ७० हजारको मृत्यु भएको थियो । यसमध्ये एक लाख ८७ हजार यस्ता मानिस थिए जो स्वयं सवारी साधन चलाइरहेका थिएनन् । सोही वर्ष एक लाख ५० हजार आत्महत्याको कारण मदिरा बन्यो भने ९० हजारको मृत्यु मदिराजन्य हिंसाका कारण भएको थियो ।
त्यसो त निश्चित मात्रामा मदिराको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ भन्ने पनि गरिन्छ तर त्यसको कुनै विश्वसनीय आधार छैन । कम समयमा धेरै मदिरा पिउनु विभिन्न समस्याको कारक बन्छ । प्रतिवेदनमा भनिएको छ कि दुई सय किसिमका अस्वस्थता र चोटपटकमा मदिराको हानिकारक उपयोग एक प्रमुख कारण हुन्छ । यो ‘लिवर सिरोसिस’ तथा विभिन्न किसिमका ‘अर्बुद’ रोगको कारक पनि हो । यस प्रतिवेदनमा एक नौलो खुलासा पनि गरिएको छ कि वर्तमानमा ‘अल्कोहल’को उपयोगले विभिन्न सङ्क्रामक रोग बढाउनमा सहयोग पु¥याएको छ । पहिले बढी मदिरा पिउँदा मस्तिष्कमा हानि पुग्ने, स्मरण शक्तिमा प्रतिकूल असर पर्ने तथा डिमेन्सियासँग सम्बन्धित समस्या उत्पन्न हुने कुरा गरिन्थ्यो तर अक्सफोर्ड युनिभर्सिटी तथा युनिभर्सिटी कलेज लन्डनको नयाँ अनुसन्धानबाट पत्ता लागेको छ कि अपेक्षाकृत कम मदिरा पिउनुले पनि मस्तिष्कमा यस्तो क्षति पु¥याउन सक्छ । अमेरिकामा एक हजार तीन सय महिलामा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो । गुणस्तरीय भन्ने मदिराबाट त स्वास्थ्यलाई गम्भीर हानि पुग्छ भने गुणस्तरहीनको असर के कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । 
त्यसो त यस्तो प्रतिवेदन हरेक वर्ष आउँछ तर मदिरा उत्पादक थोरै मात्रामा मदिरा पिउँदा कुनै नोक्सान नपुग्ने बरु यसबाट शरीरलाई चुस्त राख्न सहयोग पुग्ने झुठको व्यापार गर्न छाड्दैनन् । यसको वास्तविकता हालको अध्ययनमा देखिएको छ जुन विश्वकै प्रतिष्ठित मेडिकल जर्नल ‘द लान्सेट’ मा प्रकाशित छ । करिब पाँच सय विशेषज्ञको समूहका म्याक्स ग्रिसवोल्डका अनुसार अध्ययनबाट यो पत्ता लागेको छ कि ‘अल्कोहल’को कुनै सुरक्षित मात्रा छैन । अर्थात् न्यूनतम मात्राबाट पनि स्वास्थ्यलाई नोक्सानी पुग्न सक्छ । मदिराको उपभोग मात्रा जतिजति बढ्दै जान्छ उतिउति स्वास्थका लागि खतरा पनि बढ्दै जान्छ ।
१५ देखि ४९ वर्षको उमेर समूहका पुरुषलाई हे¥यो भने १२ प्रतिशत मृत्यु मदिराको कारण नै हुन्छ । यस उमेर समूहमा हुने मृत्युलाई प्रायः निकै दुःखद र परिवारको लागि सङ्कटको स्थिति सिर्जना गर्ने मानिन्छ । किनकि यो सक्रिय र ऊर्जाशील उमेर हो, जोशिलो र जाँगरिलो तथा सामाजिक, पारिवारिक जिम्मेवारी बहन गर्ने उमेर पनि हो तर मदिराको कारण हुने १२ प्रतिशत मृत्यु यस उमेर समूहमा पर्छ यसैले एक प्रकारले यो निकै ठूलो चेतावनी पनि हो । यसभन्दा बढी उमेर समूहमा विश्वमा ४३ प्रतिशत व्यक्ति अर्थात् पुरुष तथा महिला मदिरा पिउँछन् । मदिरा पिउनेको कुल सङ्ख्या दुई सय ३० करोड छ । मदिराको खपतको तथ्याङ्कको हकमा यो यसरी दिइन्छ कि एक वर्षमा एक व्यक्तिले कति शुद्ध अल्कोहल उपभोग ग¥यो ? सन् २००५ मा विश्वमा प्रतिव्यक्ति मदिराको उपयोग ५ दशमलव ५ लिटर शुद्ध अल्कोहल थियो । सन् २०१६ मा यो बढेर ६ दशमलव ४ लिटर भयो । सन २०२५ सम्म यो सात लिटरसम्म पुग्ने आशङ्का छ । प्रतिदिन, प्रतिव्यक्ति उपभोगको तथ्याङ्क ३२ दशमलव ८ ग्राम छ । विश्वमा मदिराको कुल खपतको २५ दशमलव ८ प्रतिशत हिस्सा यस्तो छ जुन सरकारी बिक्री तथा करको हिसाबमा समेटिएको हँुदैन अर्थात् अवैध हुन्छ वा भनौँ अवैध कारोबार हुन्छ ।
क्रूर किसिमका अपराध हत्या, बलात्कार आदिमा संलग्नका वयान सुन्दा थाहा हुन्छ उनीहरूले मदिराको सहयोगमा वा मदिराका कारण त्यस्तो अपराध गरेका थिए । तिनका अपराधमा मदिराकै भूमिका थियो । मदिरा सेवन गरी ठाउँठाउँमा भएका घटना दुर्घटना तथा झैझगडाका पनि हामी जानकार नै छौँ तर अचेल भोज भतेर होस् वा उत्सव, समारोह मदिरा विहीन हुनै सक्दैन भन्ने जस्तो मान्यता स्थापित भएको छ । कुनै समय पुरुषहरू मात्र मदिरा पिउँछन् भन्ने मान्यता थियो तर अचेल महिलाहरू पनि मदिरा पिएर आधुनिक हुनेतर्फ आकर्षित हुँदैछन् । हामीकहाँ मदिराको नियमित बिक्री त भइरहेकै छ, यो सरकारको राजश्वको एक प्रमुख स्रोत पनि हो तर चाडपर्वको समयमा मदिराको खपत झनै बढी हुन्छ । जस्तोसुकै गुणस्तरीय भनिए पनि मदिरा आयात र सेवनलाई निरुत्साहित र नियन्त्रण गर्नु तथा यसको जथाभावी विक्री वितरण र प्रयोगलाई दण्डनीय बनाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्