नयाँ पर्यटकीय गन्तव्यमा परेको मोरङको पर्यटकीय स्थल धनपाल गढी अतिक्रमणको चपेटामा

नयाँ पर्यटकीय गन्तव्यमा परेको मोरङको पर्यटकीय स्थल धनपाल गढी अतिक्रमणको चपेटामा

विराटनगर, २१ कात्तिक । सरकारले पर्यटन विकासका लागि सार्वजनिक गरेको १ सयओटा नयाँ पर्यटकीय गन्तव्यमा परेको मोरङको धनपाल गढी अतिक्रमणको चपेटामा परेको छ । ३५ बिगाहा जग्गा रहेको गढीको ६ बिगाहा अतिक्रमण भएको पाइएको छ । गौचरनका रूपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा थियो, जसमा हालै सरकारको समेत ध्यानाकर्षण भएको छ । 

धनपाल गढीको विकासका लागि पर्यटन कार्यालय, काँकडभिट्टाले ७ लाख, जिल्ला वन कार्यालय मोरङले ४ लाख र जिल्ला विकास समितिले २ लाख छुट्ट्याएका थिए । यो बजेटले पोखरी सफा गर्ने र तारको घेराबारा गर्नेबाहेक अन्य काम हुन सकेको छैन । पहिले सातओटा पोखेरी रहेको उक्त क्षेत्रमा अहिले तीनओटा मात्र पोखरी छन् । अन्य चार पोखरी भने अतिक्रमणमा परेका छन् । खाली जग्गा देख्नेबित्तिकै सुकुमबासीको नाममा आवादी गर्ने प्रवृत्तिले संरक्षणमा कठिनाइ भएको डाँगीहाट गाउँपालिकाका पूर्वउपाध्यक्ष प्रतिमान थापामगरले बताए । अन्य छेउछाउमा जग्गा हुनेले समेत अतिक्रमण गर्ने गरेको उनको गुनासो छ ।

यस्तो छ धनपालगढी
पर्यटकीय स्थल धनपालगढी बेलबारी–५ कसेनीमा छ । धनपाल राजाको दरबार रहेकाले धनपाल गढी भनिएको हो । धनपाल राजा, उनको दरबार र त्यसबेलाको रहनसहनबारे खोजी गर्ने कार्य जारी रहेको स्थानीय बताउँछन् । ३५ बिगाहामा रहेको गढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । वैशाखमा यहाँ ठूलो मेला लाग्ने गरे पनि संरक्षणको काम भने हुन सकेको छैन । विवाहपछि नवदम्पतीले मेलाको बेला यहाँ रहेको पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीय मान्यता छ ।

सरकारले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यको सूचीमा प्रदेश १ का १४ जिल्ला पनि समेटिएका छन्, जसमा यस प्रदेशका ३० परेका छन । सरकारले प्रदेश १ मा सबैभन्दा धेरै झापा र सुनसरीका ४/४ स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । मोरङबाट भने सरकारको सूचीमा एउटा मात्र गन्तव्य स्थल परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्