भाईटिका लगाउने यस्तो छ बिधि !! पढ्नुहोस् ।

भाईटिका लगाउने यस्तो छ बिधि !! पढ्नुहोस् ।

 

आज भाईटिकाको दिन । आज विहान ११:५५ मा टिकाको शुभसाईत रहेको छ ।

कसरी लगाउने टीका ?

दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान-सुपारी, पत्र-पुष्प पठाई निम्तो दिइन्छ ।

यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आवाहन गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी हुन्

विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ ।

पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो– आफ्ना दिदीबहिनी र दाजुभाइ दुवै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।

टीका–विधि
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजा–अर्चना गरिन्छ । त्यसपछि दाजु–भाइको मंगल–माङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी काल छेकिन्छ । र, ओखरसमेत फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।

अनि क्रमशः फूल, अक्षता, अबिर, केशरी र चन्दन, पत्रपुष्प, लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिएर सगुनस्वरूप दही खुवाउने चलन छ ।त्यसपछि दिदी–बहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकाको पनि आ–आफ्नै महिमा छ । रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, वैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लाको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमंगको जनाउ दिने शास्त्रीय मान्यता छ ।

टीका लगाइसकेपछि फूलको माला पहिर्‍ यई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको आ–आफ्नै महत्त्व पनि छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरित रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास स्वरूप ती माला प्रयोग गरिने शास्त्रमा उल्लेख छ ।

टीकाको उपक्रम अन्तर्गत अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिँदै उँचो शीरको कामना गर्दछन् । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गर्दछन् ।

दिदी–बहिनी नभए के गर्ने ?
तिहारको टीका दाजुभाइ दिदीबहिनीबीच भ्रातृत्व र सहअस्तित्वको पर्व हो । अतः दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । यद्यपि भूकम्पमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर भग्न बनेकाले विधिपूर्वक पूजा गर्ने अवस्था छैन । त्यहाँको मन्दिर छाउनीस्थित संग्रहालयमा राखिएको छ भने टीकाकैदिन ल्याइने र शुक्रबार अबेरसम्म राखिने मन्दिर संरक्षण समितिले जानकारी दिएको छ ।

(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्