प्रदेश नम्बर १ कै पहिलो प्याराग्लाइडिङ स्कूल बोप्ताङ डाँडामा

प्रदेश नम्बर १ कै पहिलो प्याराग्लाइडिङ स्कूल बोप्ताङ डाँडामा

सुनसरी,२७ कात्तिक । साहसिक खेलका रूपमा प्रवर्द्धन भइरहेको प्याराग्लाइडिङको आधारभूत प्रशिक्षण केन्द्र प्रदेश नम्बर १ मै पहिलोपटक उदयपुरको बेलका नगरपालिकामा शुरू भएको छ । बेलका नगरपालिका ८ स्थित बोप्ताङ डाँडामा प्रशिक्षण केन्द्र सञ्चालन गरिएको हो । बोप्ताङ डाँडामा टेक अफ भएको प्याराग्लाइडिङको ल्याण्डिङ सप्तकोशी किनारस्थित सिसौली चौरमा रहेको छ । यो प्रशिक्षण केन्द्र बेलका नगरपालिका र नेफाको सहकार्यमा सञ्चालनमा आएको हो । बेलका नगरपालिकाले टेकअप गर्न करीब १० कट्ठा र ल्याण्डिङका लागि सामुदायिक वन क्षेत्रमा रहेको कोशी किनारको करीब २५ बिगाहा जग्गा उपलब्ध गराइदिएको छ ।

धरानस्थित बुढासुब्बा प्याराग्लाइडिङ प्रालिको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालन भएको प्रशिक्षण केन्द्रको उद्घाटन तिहारको लक्ष्मीपूजाको दिन बेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापाले गरेका हुन् । थापालाई नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)का प्रशिक्षक सुरेन गुरुङले डाँडाबाट उडाउँदै केन्द्रको उद्घाटन गरिएको हो ।

नेपालको तेस्रो प्रशिक्षण केन्द्रका रूपमा सञ्चालनमा आएको प्रशिक्षण केन्द्रमा अहिले सोलो पाइलटका लागि ६ जनाले प्रशिक्षण शुरू गरेका छन् । जसमा ३ जना पोखराबाट, पाल्पाबाट १ जना धरानबाट १ जना र बेलकाबाट १ जना छन् । यसपछि थप ८ जना बेलकाका युवालाई प्रशिक्षण दिइने बुढासुब्बा प्रालिका अध्यक्ष लेखमणि जिमीले बताए । उनले भने, ‘यहाँ अन्य ठाउँको भन्दा सस्तो मूल्यमा पाइलट प्रशिक्षण दिइनेछ, यसले पाइलट अभावलाई पूर्ति गर्नेछ भने धेरै भन्दा धेरै प्याराग्लाइडिङको सम्भावनाको खोजी हुनेछ ।’

उनका अनुसार अरुतिर यो कोर्स अढाई लाख खर्च लाग्छ । यहाँ भने सञ्चालकले होस्टलसहित डेढ लाखमा उपलब्ध गराइरहेको छ । अहिले प्रशिक्षार्थीलाई नेफाका प्रशिक्षक गुरुङ र बेलायती पिट ग्लेगारले प्रशिक्षण दिइरहेका छन् । आधारभूत कोर्स १५ दिनको हो । यो कोर्स लिएपछि २ वर्षमा सोलो पाइलटले टेण्डम कोर्स गरेर व्यावसायिक उडान गर्न सक्ने जिमीले बताए ।

पर्यटन विकासका लागि प्याराग्लाइडिङ विकासमा आफूले सहकार्य गरेको र थप पर्यटनको सम्भावना खोजी गर्ने बेलकाका मेयर दुर्गा थापाको भनाइ छ । प्याराग्लाइडिङ कोर्स गर्न नगरपालिकाले स्थानीय युवालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए । नेपालमा प्रशिक्षण केन्द्र स्याङजाको शिरकोटमा बाबु एडभेञ्चर, पोखराको ब्लू स्काईले तनहुँको बन्दीपुरमा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्