विराटनगरको बसपार्क यसरी संचालनमा आउँदै, उद्घाटन नहुँदै बस हुईँकिन थाले

विराटनगरको बसपार्क यसरी संचालनमा आउँदै, उद्घाटन नहुँदै बस हुईँकिन थाले

 

प्रेम देवान/ओवी
विराटनगर,२९ कात्तिक । विराटनगरमा बन्दै गरेको सुविधा सम्पन्न बस टर्मिनल (वसपार्क)को निर्माण पुरा भएको छ । तर अहिलेसम्म संचालनको लागि कुनै तयारी देखिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले बिहिबारदेखि आफ्नो सम्पुर्ण निर्माणको काम सकेको जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको भवन र सवारी पार्किङ स्थल बनाईएको छ ।
२०७३ फागुनदेखि सुरु गरिएको निर्माण अवधी १८ महिनाको थियो । तर २०७५ कात्तिकसम्मको समय दिएर २० महिनामा निर्माण पुरा भएको हो । टर्मिनलको निर्माण अवधि १८ महिना तोकिए पनि अझैसम्म उद्घाटन गरिएको छैन । बसपार्कको जिम्मा लिएको गौरी– र्पाती निर्माण कम्पनी आफ्नो तर्फबाट बनाउने काम १ महिना अगाडी नै सम्पन्न भएको भनि महानगरपालीकालाई जानकारी गराएको दावी गर्छ । निर्माण कम्पनीले काम सकेपछि गर्नु पर्ने उद्घाटनको कामको बारेमा महानगरले अझै केही दिन लाग्ने जनाएको छ । तर अहिले उद्घाटन अगावै बसपार्क भित्र सवारी साधनहरु पार्किङमा राखिएका छन् । उद्घाटन अगाडी कुनै पनि सवारी साधनलाई प्रवेश नगराउने भनिएको भए पनि अहिले टर्मिनल बसपार्क भित्र बस र माईक्रोबस स्टेशन नै बनाएर बसेका हुन् ।
बसपार्कको भवन अगाडी खुद्रा चिया पसलका ठेलाहरु समेत राख्न थालिएका छन् । बसपार्क भित्र ठेक्का प्रक्रियामा मात्र पसलहरु संचालन गर्न दिने तयारीमा बिराटनगर महानगरपालिका रहेको छ । उद्घाटन अगावै सवारी साधन र खुद्रा पसल गर्नेहरुको विषयमा अहिलेसम्म महानगरले केही बोलेको छैन ।
किन संचालनमा आएन तिहार अगाडी ?
विराटनगरमा बनेको सुविधा सम्पन्न बसपार्क तिहार अगाडि उद्घाटन गरी संचालनमा ल्याउने तयारी थियो । मेयर भिम पराजुलीले त्यही अनुसार नगरवासीसँग बोल्दै हिँडेका थिए । तर त्यो अबधिमा संचालनमा आउन सकेन त्यसको एउटा मात्र कारण थियो, बसपार्क पुर्वमा पर्ने नालाको स्ल्याब बनाउन ६ लेन सडक परियोजनाको आलटाल । अहिले पनि यो ६ लेनको सडक परियोजनाको नाला निर्माण नहुँदा समस्याको रुपमा देखिएको छ ।
सडकको नाला निर्माणको लागि नालाको स्लाबको लागि रड हाल्ने काम भएपनि ढलान गर्न आलटाल गर्दा संचालनमा ढिलाई भएको हो । बसपार्क निर्माणको सम्पुर्ण काम सकिएको छ । वसपार्क भित्रका विजुली, पानी ,नाला र बस पार्किङको स्थानको रङरोगनका सबै काम भईसकेका छन् । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निमार्णको काम सुरु गरेको थियो । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठूला गरी ५० देखि ६० वटासम्म बस अट्नेछ ।
महानगर यसो भन्छ,
विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले बस पार्कको निर्माण सकिएको स्वीकार गरे । तिहार अगाडी नै उद्घाटनको तयारी गरिएको भएपनि बसहरु निस्कने ठाउँमा ६ लेन परियोजनाको काममा ढिलाई हुँदा केही ढिला भएको उनको भनाई छ । ‘हामीले सडक विभागलाई बारम्बार चाँडो बनाईदिनु पर्यो भनेर भनिरहेका छौ, थापाले भने, अब नालामाथी स्लाब बन्न साथ मंसिरको पहिलो साता भित्रमा बसपार्क संचालनमा ल्याउने छौ ।’
अहिले बनेको बसपार्क एक नम्बर प्रदेश कै नमुना टर्मिनल बसपार्क हो । प्रतिक्षालय, दुई पसल रहने छ । पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ । ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने स्थान मिल्ने गरी भवन बनाउने काम भइरहेको थापाले बताए।
त्यस्तै खानेपानीको सुविधाका लागि ट्यांकी, गाडीहरु धुनका लागि छुट्टै स्थान पनि हुने छ। बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहनेछ भने सबै तिर गरी ८ वटा टिकट काउन्टर रहनेछ । भुईँ तल्लामा नै बस पार्कको कार्यालय बनाइनेछ ।
दोस्रो तल्लामा रेष्टुरेन्ट,किचेन र ब्यागेज रुम बनाईएको छ । दोस्रो तल्लामा नै ब्यागेज रुम पनि बनाईएको छ ।
महानगरपालिकाबाट छोटो तथा लामो दुरीका लागि करिब २ सय सवारीका साधनहरु सञ्चालन हुँदै आएका छन् । अहिले जेनियल होटल पछाडी आँप बगैचामा अस्थायी रुपमा बसपार्कको ब्यावस्थापन गरिँदै आएको छ ।
विगत बर्षदेखि अव्यवस्थित रुपमा संचालनमा रहेको विराटनगर बसपार्कको स्थानमा नयाँ सुविधा सम्पन्न बसपार्क निर्माण भएसँगै नगरवासीले राहत महसुस गर्नेछन् । तर तत्कालको लागि भने नयाँ बनेको बसपार्क संचालनमा आउने बितिकै अहिले बसपाकै अगाडीको धुलोले बसपार्कलाई कुरुप बनाउने हो की भन्ने चिन्ता पनि उसै गरी बढेको छ । एउटा बसपार्क बन्दामात्र भन्दा पनि सडकको अबस्था बेहाल हुँदा बाहिरको फोहोरले बसपार्कलाई बिगर्नेमा प्राबिधिकहरुले चिन्ता ब्यक्त गरेका छन् । बसपार्क संचालन गर्न भन्दा पहिला नै अगाडीको सडकलाई बनाउन सक्ने हो भने बिराटनगरको बसपार्क साँच्चिकै नमुना बन्ने थियो । बसपार्क तत्काललाई बिराटनगर महानगरपालिका आफैँले संचालन गर्ने छ । बसपार्क संचालन गर्नको लागि विराटनगर महानगरपालिकाले ३ जना कर्मचारीलाई परिचालन गरिसकेको ईन्जिनीयर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्