निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’

निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’

दुर्गा उपाध्याय

कञ्चनपुर, कात्तिक ३० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डिएनए नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालबाट आएको डिएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डिएनएसँग नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

शंकास्पद सबै स्थानीय हुन् । उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रहरी नायव उपरीक्षक ओझाले अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डिएनए परीक्षण गर्न सकिने बताए ।

यसअघि, प्रहरीले तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरेको थियो । उनीहरुको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।

यसैगरी दिलिप सिंह विष्ट र चक्रदेव बडुको डिएनए पनि परीक्षण गरिएको थियो ।

उता, निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी भने न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना बितिसकेको छ तर, अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

धर्नामा बसेका निर्मलाका बाबु आमाको स्वास्थ्य अवस्था भने बिग्रंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्