नेपाली कांग्रेस मुख्यालयमा नेवि संघका दुई समूहको नाराबाजी

नेपाली कांग्रेस मुख्यालयमा नेवि संघका दुई समूहको नाराबाजी

काठमाडौँ, १ म‌ङ्सिर । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।भातृ संस्था नेपाल विद्यार्थी संघबारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्नुभन्दा अघि विद्यार्थीहरुले प्रदर्शन र नाराबाजी गरेका हुन्।नेवि संघका केन्द्रीय सदस्य शिशिर भट्टले संगठनको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्न दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताएका छन्।नेवि संघकै एउटा खेमाले शनिबार कार्यकाल सकिने कार्यसमितिलाई अवैधानिक भएको हुने दावी गर्दै नयाँ समिति बनाएर महाधिवेशनमा जानु पर्ने बताउँदै आएको छ। त्यसैगरी, अर्को पक्षले यही केन्द्रीय समितिलाई आयोजक समिति बनाएर जानु पर्ने माग गरिरहेको छ। जसले गर्दा १२औं महाधिवेशन गरी वैधानिक बाटोबाट नेतृत्व चयन गर्न सजिलो हुने तर्क उक्त समूहको छ।दुई समूहको प्रदर्शनका क्रममा संस्थापन इतरको विद्यार्थी समूहको अगुवाई शिशिर भट्ट, नवराज त्रिपाठी, निरन्तर थापा लगायतले गरेका थिए। संस्थापन पक्षबाट दीपक भट्टराई, बलदेव तिम्सिना, युवराज पाण्डे लगायतका विद्यार्थी नेताहरु नाराबाजी गरेका थिए।नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको दुई वर्षे कार्यकाल शनिबार सकिने भएपनि उमेर हद विवादका कारण महाधिवेशन हुन सकेको छैन।जसका कारण नेवि संघको वर्तमान कार्यसमिति विघटनको संघारमा पुगेको संगठनलाई कसरी जोगाउने भन्ने निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो।कात्तिक १६ गतेदेखि काठमाडौँमा १२औँ महाधिवेशन गर्ने भनिएपनि ३२ वर्षे उमेर हद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन सकेन। केन्द्रीय समितिबाट संस्थापन पक्षले बहुमतका आधारमा उमेर हद ३२ वर्ष हुने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले चर्को असन्तुष्टि जनाउँदै आएको छ। शनिबारको बैठकमा महर नेतृत्वकै कार्य समितिलाई महाधिवेशन नहुञ्जेलसम्म निरन्तरता दिने, तदर्थ समिति बनाउने लगातका विकल्पमाथि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्