करका विषयमा कांग्रेसले भ्रम फैलाएको मन्त्री आङ्बोको आरोप

करका विषयमा कांग्रेसले भ्रम फैलाएको मन्त्री आङ्बोको आरोप

बिर्तामोड, १ मङ्सिर ।  प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले करका बारेमा प्रतिपक्षी दलहरुले भ्रम फैलाएको आरोप लगाएका छन्। आङ्बोले भ्रम फैलाउने दलहरुमा नेपाली कांग्रेस मुख्य रहेको आरोप लगाएका हुन्। झापाको बिर्तामोडमा कर सप्ताह उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै आङ्बोले भने, ‘करलाई राज्यले जहिले पनि सेवासँग जोडेको छ, कर व्यक्तिगत लाभका लागि नभई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि लिइएको हो।’ उनले यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। कर सप्ताहको दोस्रो दिन मंसिर २ गते बुधबारे उद्योग वाणिज्यको सहकार्यमा बुधबारे झापामा करदातालाई कारोबारस्थलमा नै कर सम्बन्धी जानकारी दिने उद्देश्यले घरदैलो करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको छ।

कर सप्ताहको तेस्रो दिन मंसिर ३ गते फिदिममा पाँचथर र ताप्लेजुङका उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। चौथो दिन मंसिर ४ गते इलामको मंगलबारेमा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको छ।सप्ताहको पाँचौ दिन मंसिर ५ गते झापाको मेचीनगरमा उद्योग वाणिज्य संघ मेचीनगर र होटल एशोसिएसन झापाको आयोजनामा अन्तरक्रिया कार्यक्रम तथा सोही दिन जिल्ला सहकारी संघ र जिल्ला बचत संघको सहभागितामा जिल्लाभरिका सहकारी तथा वित्तीय संस्थाका लेखा प्रमुख र व्यवस्थापकसँग कर सम्बन्धी समसामयिक विषयमा जानकारी दिने उद्देश्यका साथ बिर्तामोडमा छलफल कार्यक्रम आयोजना गरिएको छ। करसप्ताहको छैठौँ दिन मंसिर ६ गते दिउँसो उद्योग वाणिज्य संघ, झापा र भद्रपुर उद्योग संघसँगको सहकार्यमा उद्यमी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

सोही दिन दिउँसो १ बजे ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते विभिन्न क्षेत्रमा कर सहभागिता जनाउने तथा योगदान पुर्याउने करदाताहरुलाई सम्मान तथा पुरस्कृत गरी उद्योग वाणिज्य संघ सुरुङ्गाको सहकार्यमा कार्यक्रमको समापन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्