भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि विराटनगर नाकाबाट इन्धन ढुवानी ठप्प

भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि विराटनगर नाकाबाट  इन्धन ढुवानी ठप्प

विराटनगर,२ मंसिर । पेट्रोल लोड गरेको ट्यांकर लिएर नेपालतर्फ आउँदै गरेका एक नेपाली ट्यांकर चालकमाथि भारतको जोगवनी बजारमा भारतीय प्रहरीले शनिबार कुटपिट गरेका छन्। भारतको बरौनीबाट पेट्रोल लोड गरेर आउँदै गर्दा को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि बिहान ४ बजे कुटपिट भएको चालकले बताएका छन्।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार त्यहाँ रहेका अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै ट्यांकर चालकलाई बाहिर निकालेर र्दुव्यवहार गर्दै कुटपिट गरिएको हो। आचार्यले बरौनीबाट पेट्रोल लोड गरेर आएपछि जोगवनी स्थित भारतीय भन्सार कार्यालयमा चेकजाँचका लागि जाने क्रममा नेपाली चालकमाथि भारतीय सुरक्षाकर्मीले कुटपिट गरेको जानकारी दिए। ‘जोगवनीमा सवारी साधनको जाम रहेछ। जामा छिचोल्न अरु सवारीलाई उछिनेर अघि बढ्न खोजेको निहुमा चालकमाथि कुटपिट भयो,’ उनले भने,‘ट्यांकरबाट ओरालेर लाट्ठी र मुक्काले हानियो। कुटपिटका कारण शरीर भरी निलडाम रहेका छन्।’

भारतको बथनाहादेखि जोगवनीसम्मको सात किलोमिटर सडक साँघुरो भएर संधै सवारी साधनको जाम हुने गरेको छ। त्यही विषयलाई लिएर भारतीय सुरक्षाकर्मी र नेपाली ट्यांकर चालकबीच एक महिना अघि छलफलसमेत भएको थियो। छलफलका क्रममा पेट्रोलियम पदार्थ (इन्धन) बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिने व्यवस्था गर्ने सहमति भारतीय सुरक्षाकर्मीसँग भएको आचार्यले बताए।  ‘नेपाली बजारमा इन्धनको अभाव हुन नदिनका लागि पनि ओभरटेक गरेर नै इन्धनका ट्यांकर लान पाउने व्यवस्था भारतीय सुरक्षाकर्मीले गरिदिने सहमति भएको थियो,’ उनले भने, ‘तर आज ओभरटेक गरेकै बहानामा नेपाली ट्यांकर चालकमाथि दुरव्यवहार र कुटपिट भएको छ।’

जाममा फस्दा र ओभरटेक गर्ने व्यवस्था नगरेमा एउटा ट्यांकरलाई नेपाल आइपुग्न सात दिन भन्दा बढी समय लाग्ने आचार्यको भनाइ छ। उनले नेपाली ट्यांकर चालकले विभिन्न वहानामा भारतीय सुरक्षाकर्मीको ज्यादती खेप्नु परिरहेको गुनासो गरे।‘हामी ट्यांकर लिएर नेपालबाट भारतको बरौनीसम्म इन्धन लिन पुग्छौं,’ उनले भने, ‘विभिन्न बहानामा ठाउँ ठाउँमा भारतीय सुरक्षाकर्मीबाट दुरव्यवहार र कुटपिट खेप्नु परिरहेको छ।’ उनले अनेक बहाना बनाउँदै विभिन्न ठाउँमा भारतीय सुरक्षाकर्मीले घुस मागेर हैरान पार्ने गरेको बाताए।

कुटपिटको विरोधमा नेपाली ट्यांकर चालकहरुले भारतदेखि हुने पेट्रोल, डिजेल समेतका इन्धनको ढुवानी शनिबार बिहानैबाट ठप्प पारेका छन्। भारतीय सुरक्षाकर्मीले चालकमाथि  कुटपिट गरे लगत्तै विरोध र आन्दोलनमा उत्रिएका चालकले इन्धन ढुवानी रोकेका हुन्। आक्रोसित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने, नेपाली ट्यांकर चालकमाथिको दुरव्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, जतिबेलै जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायतका माग राखेका छन्।
अध्यक्ष आचार्यले चालकलाई निर्वाध रुपमा इन्धन ढुवानी गर्ने वातावरण नबनुन्जेल इन्धन ढुवानी बन्द गरिने बताए। उनका अनुसार चालकको आन्दोलनका कारण नेपालबाट बरौनी डिपोसम्म इन्धन लिनका लागि पुगेका एक सय ७० ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमा थन्किएका छन्। आन्दोलित चालकले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरस्थित डिपोबाट समेत पेट्रोल पम्पसम्म इन्धन लोड अनलोड ठप्प पारेका छन्।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले भारतीय सुरक्षाकर्मीबाट दुरव्यवहार र कुटपिट भएको विरोधमा इन्धन ढुवानी गर्न नसकिएको जानकारी चालकले गराएको बताए।  नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले चालक र भारतीय सुरक्षाकर्मीबीच उत्पन्न विवादका बारेमा बुझ्नका लागि कार्यालयबाट प्रतिनिधि खटाइसकिएको बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले चालकले यस विषयमा जानकारी गराइएको बताउँदै भने,‘भारतीय सुरक्षाकर्मीले ज्यादती गरिरहेको भन्दै चालकले ढुवानी रोकेको जानकारी गराएका छन्। तत्काल पेट्रोलियम ढुवानी सूचारु गर्ने विषयमा सबै पक्षसँग छलफल गरेर समस्या समाधानको पहल भइरहेको छ।’ (अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्