निर्मलाको हत्यारा सार्वजनिक गर भन्दै बुबाआमा धर्नामा

निर्मलाको हत्यारा सार्वजनिक गर भन्दै बुबाआमा धर्नामा

काठमाडौं मङ्सिर २  । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि लगातार धर्नामा छन् । उनीहरु लगातारको धर्नाका कारण बिरामी परेका छन् ।  परिवारका अन्य सदस्यले बाह्रखरीलाई जानकारी गराएअनुसार चिसोका कारण दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ भने बाबु निकै नै अस्वस्थ भएका छन् ।

चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ  । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् ।

पीडित परिवारलाई चिसोको समश्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोली धर्नास्थलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । आमा दुर्गादेवीले बाह्रखरीसँगको कुराकानीमा छोरीको न्यायको लागि आफूहरु धर्नामा बस्दा पनि राज्यले सुनुवाई नगरेको गुनासो गरिन् ।
धर्नाको यतिका दिनसम्मपनि सरकारका कुनैपनि व्यक्ति आएर आफूहरुको माग बारेमा नसोधेको जनाइन् । निर्मलाका पिता यज्ञराजको रक्तचाप  घटेर ६७ पुगेको चिकित्सकको भनाई छ ।

कमजोरी र समयमै खाना नखाएका कारण निर्मलाका बाबुको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

“समयमै खानपिन नहुँदा र अनिंदोका कारण बाबुको अवस्था निकै कमजोर छ,” डा. बोहराले भने “उहाँमा ज्वरो पनि देखिएको छ । हामीले रगत र पिसाब जाँचका लागि प्रयोगशालामा पठाएका छौ ।”
निर्मलाका बाबुले आफूहरुले न्याय माग्दा पनि सरकारले उपेक्षा गरेको आरोप लगाए ।

“हामीले अरु केहि मागेका होइनौं,” यज्ञराजले भने “न्याय माग्दा त यो अवस्था छ । मौन बसे कसरी न्याय मिल्छ होला ?,”उनले बाह्रखरीसँग भने ।  साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको भए पनि अहिलेसम्म बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्