विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदकाे १० लाख

विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदकाे १० लाख

सप्तरी, ३ मंसिर। सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले चालू आर्थिक वर्षको संसदीय कोषबाट प्राप्त रकम आफ्ना क्षेत्रका आठ विद्यालयमा खर्चिने छन् ।

यसबाट रुपनी र बिष्णुपुर गाउँपालिकाका ७ सय ८९ विद्यार्थी लाभान्वित हुनेछन् । ‘सप्तरीमा एसईई परीक्षाको नतिजा एकदमै कमजोर छ,’ उनले भने, ‘त्यसैले कक्षा १० मा अध्ययन गर्ने भाईबहिनीको पढाईका लागि यो रकम उपलब्ध गराउन लागेको हुँ ।’ मंसिर १४ गतेदेखि ३ महिनासम्म बिहान ७ देखि नौ बजेसम्म कोचिङ पढाइने सांसद समीमले बताए ।

यस विषयमा उनले आठवटै माविका प्रधानाध्यापकहरुलाई बोलाएर छलफल गरेका छन् । ‘माननीयज्यूले कोचिङ पढाउने शिक्षकहरुलाई पारिश्रमिक तथा त्यसको निगरानी गर्न प्रअहरुलाई भत्तासमेत दिने कुरा गर्नुभएको छ,’ मावि रायपुरका प्रअ पर्शुराम यादवले भने, ‘हामी उहाँको अभियानमा साथ दिनेछौं ।’ कोचिङ कक्षाका क्रममा प्रत्येक महिना विद्यार्थीहरुको परीक्षा लिएर स्तर जाँच गरिनेछ । यसबाहेक प्रत्येक महिना समिक्षा बैठक बस्दै सरोकारबालाहरुसँग अनुगमन गराउने योजनासमेत समिमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्