दशकौं पछि किलोग्रामले पायो नयाँ परिभाषा !

दशकौं पछि किलोग्रामले पायो नयाँ परिभाषा !

बीबीसी । वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स’ मा सन् १८८९ देखि सुरक्षित राखिएको छ ।

वास्तवमा गत शुक्रबार फ्रान्सको भर्सेलिसस्थित वेट्स एण्ड मेजर्समा आयोजित बैज्ञानिकहरुको एउटा ठूलो सम्मेलनमा केजीको परिभाषा बदल्नेबारे मतदान भएको हो । र, यसै कार्यक्रममा परिवर्तनको पक्षमा बढी मत प्राप्त भएपछि विज्ञहरुले यस्तो निर्णय लिएका हुन् । त्यसैले अबको नयाँ प्रणालीमा किलोग्रामलाई यान्त्रिक र विद्युतीय चुम्बकको ऊर्जाका आधारमा परिभाषित गर्ने तय भएको छ । 

यसरी केजीको परिभाषामा बदलाव आएपनि यसले हाम्रो दैनिक जीवनमा भने कुनै प्रभाव नपार्ने बताइएको छ । तर उद्योग र विज्ञानमा भने सटिक हिसाब आवश्यक हुने हुँदा यसको व्यवहारिक प्रयोग हुने बताइएको छ । किलोग्राम अन्तर्राष्ट्रिय मापन प्रणालीका सात बेसिक युनिट मध्येको एक हो भने ‘लि ग्रान्ड के’ लन्डनमा निर्मित चार सेन्टिमिटरको सिलिन्डर हो जुन ९० प्रतिसत प्लेटिनम र दश प्रतिशत इरिडियम धातुले बनेको छ । विश्वभर यसैको प्रयोग हुँदै आएको छ । तर समयसँगै यन्त्र खिइने हुँदा मापन अशुद्ध हुन थालेको पाइयो । त्यसैले पनि किलोग्रामको परिभाषालाई भविष्यमा कसैले बदल्न वा हानी पुर्याउन नसकोस् भनेरै वैज्ञानिकहरुले यस्तो उपाय लगाएका हुन् ।

सामान्य जीवनमा यो गल्ती अत्यन्तै सानो देखिएपनि औषधि उद्योग, न्यानोटेक्नोलोजी, प्रिसिजन इन्जिनियरिङ लगायतका केही प्रमुख क्षेत्रहरुमा यसले प्रभाव पार्ने डर भएपछि वैज्ञानिकहरुसँग यो प्रणालीमा परिवर्तन ल्याउनुबाहेक कुनै विकल्प नरहेको बताइएको हो । यसरी केबल हाम्रो एउटा परेलाको तौल बराबरको अङ्कले मापन अशुद्ध हुने भएपनि विज्ञानमा यो गल्तीलाई नजरअन्दाज गर्न नमिल्ने बताइएको हो । यसकारण शुक्रबारको औपचारिक घोषणालाई अहिले विश्वभरका वैज्ञानिकहरुले ऐतिहासिक क्षण बताएका छन् । अबको नयाँ किलोग्राम सन् २०१९ को मे महिना सम्ममा आइसक्ने अपेक्षा गरिएको छ । यो प्रणाली अपनाइन सुरु भएपछि फ्रान्समा मात्र नभएर विश्वका अन्य वैज्ञानिकहरुसँग पनि एक किलोको सटिक मापन उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्