शनीवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट हुने, हिमाल हेर्न ९ हजार ९ सय तिरे पुग्ने

शनीवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट हुने, हिमाल हेर्न ९ हजार ९ सय तिरे पुग्ने

विराटनगर, ४ मंसिर । अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नाममा शनीवार देखि नियमित माउण्टेन फ्लाइट गराउन लागिएको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका ब्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्लाइट उडाउन लागेका हुन् ।
उनीहरूले यसअघि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । तर दुवै सरकारले त्यसलाई अघि बढाउन समय लगाउने संकेत पाएपछि आफ्नै पहलमा माउण्टेन फ्लाइटको तयारी थालिएको विराटनगरका पर्यटन ब्यवसायी भविशकुमार श्रेष्ठले जानकारी दिए । विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो । तर अब भने नियमित हरेक हप्ता माउण्टेन फ्लाईट गराउन लागिएको हो ।
यही आउँदो शनीवार देखि यती यएरलाईन्सबाट हरेक शनीवार हप्तामा एउटा फ्लाईट गर्ने तयारी भएको श्रेष्ठको भनाई छ । विराट हालिडेजको नाममा १० जना ब्यवसायीले विराटनगरबाट माउण्टेन फ्लाईटको तयारी थालेका हुन् । पहिलो चरणमा एक नम्बर प्रदेशका नागरिकलाई लक्षित गरिएको छ । त्यस्तै बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्कीमका पर्यटक लक्षित गरि उडान गर्न लागिएका श्रेष्ठले जानकारी दिए । प्रदेश सरकार, मुख्यमन्त्रीको नारा नै माउण्टेन फ्लाईट थियो, त्यही नारालाई हामीले होस्टेमा हैसे गरेका हौ, श्रेष्ठले भने ।
यसले भारतीय पर्यटकको बसाई लम्व्याउन सकिने ब्यवसायिको भनाई छ । अहिले चार्टरको रुपमा हप्तामा एउटा गर्ने तयारी छ भने बिस्तारै नियमित गराउने तयारी रहेको छ । माउण्टेन फ्लाईट संचालनको लागि विराटनगरमा रहेका सबै ट्रावल एजेन्सीहरुको भुमिका रहेको छ । प्रति ब्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटको माउण्टेनको आनन्द लिन सकिने गरी तयारी थालिएको हो । एउटा माउण्टेन फ्लाईटमा १९ जनालाई उडाईने र कन्जनजंगा, मकालु र सगरमाथाको दृश्य हेर्न सकिने छ ।
विराटनगरका अगुवा पर्यटन व्यवसायी तथा नेपाल उद्योग बाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा ‘विराट होलिडेज’ बनाइएको थियो । त्यसमा अन्य होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एशोसिएशन सम्वद्ध पदाधिकारीहरू सदस्य रहेका छन् । यी सबै ब्यवसायीको संयुक्त पहलमा उडानको तयारी गरिएको हो ।
व्यवसायीहरूले लहान, विराटनगर, इटहरी, दमक, विर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउण्टेन फ्लाइटको तयारी गरेका हुन् । सम्वद्ध एयरलाइन्सले समेत सकारात्मक रूपमा लिएका कारण आफूहरू उत्साहित भएर लागेको व्यवसायी श्रेष्ठले बताए ।यस बरेमा अाज दिउँसाे पत्रकार सम्मेलन गरी सार्बजनीक गर्ने कार्यक्रम रहेकाे छ ।
माउण्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज तयारी पनि भरातीय पर्यटकलाई लक्षित गरि थालिएको छ । श्रेष्ठले भने, ‘माउण्टेन फ्लाइटलाई निरन्तरता दिन सकिए प्रदेश १ को पर्यटन व्यवसाय माथि उचालिन सक्छ ।’
नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले माउण्टेन फ्लाइटका लागि विमानस्थलमा कुनै समस्या नभएको जानकारी दिए । तर उड्ने रूट र उडानको समय तालिकाका लागि अनुमति लिनुपर्ने प्राविधिक तथा कानुनी प्रक्रिया रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्