विराटनगर,५ मङ्सिर । १ नम्बर प्रदेशमा खेलकुदको विकासको लागि केही काम त भएको छ, धेरै हुन सकेको छैन । प्रदेशलाई खेलकुदको हब बनाउने भनेर कहिलेकाहीँ आवाज सुनिन्छन् ।तर प्रदेशमा प्रशस्तै सम्भावना भएपनि काम गर्ने इच्छाशक्ति तथा राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताले खेलकुदका गतिविधि सुस्त छन् । खेलकुदका लागि धेरै गर्ने स्थान प्रशस्तै रहेको लामो समय फुटवल प्रशिक्षक भएर काम गरिसकेका सन्तोष बानियाँ बताउँछन् ।
सन्तोषको विगत
विक्रम सम्वत् २०१३ सालमा विराटनगरमा जन्मिएर ८ कक्षामा पढ्दादेखि नै खेलकुदमा लागेका सन्तोषले २०२८ सालमा फुटबल खेल्न थाले । खेलकुदको शुरूवातदेखि नै खेलभित्र सुशासनको कुरालाई प्राथमिकतामा राखेका बानियाँ कहिल्यै अनुशासनबाट बाहिर निस्किएनन् । उनले आफू फुटबल खेल्दा कसैलाई नियम मिच्न दिएनन् । उनी २०३९ सालमा फुटबल खेल्ने क्रममा एकाएक सहायक प्रशिक्षकमा नियुक्त भए । उनले सोचेका पनि थिएनन् कि त्यो बेलामा सहायक प्रशिक्षक बनूँला र अरुलाई खेल सिकाउँला भन्ने । तर जे नसोचेको थियो भइदियो त्यही ।
त्यो बेला सहायक प्रशिक्षकको रुपमा नियुक्ति लिँदा उनी दुग्ध विकास संस्थानको कर्मचारी थिए । तर उनलाई दुग्ध विकास संस्थानमा भएको जागिर खानै मन लागेन । त्यो बेला महिनाको ११ हजार रुपैयाँ मासिक तलब खाइरहेका उनले जागिर छाडेर ८ सय रुपैयाँ मासिक तलब पाउने सहायक फुटवल प्रशिक्षकको रुपमा काम थाले । कोशी अञ्चलको सहायक प्रशिक्षकको रुपमा नियुक्ति पाउँदा शुरूको तलब ८ सय रुपैयाँ मात्र भएको उनले सुनाए । दूध फार्मको जागिर छाडेका उनले सहायक प्रशिक्षकको रुपमा काम गर्दागर्दै राजनीति पनि गर्न थाले । राजनीति गर्दै अगाडि बढेका उनी २०४८ सालमा विराटनगर उपमहानगरपालिका–४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
‘मलाई खेल खेल्न जानुपर्ने थियो, २ पटकसम्म बिदा नै नदिएपछि जागिरबाट राजीनामा दिएँ । त्यो बेला पैसाको कुराभन्दा पनि खेल खेल्ने इच्छा निकै थियो, हाकिमले बिदा नदिँदाको परिणाम बाटो नै मोडियो,’ बानियाँ भन्छन्, ‘त्यो बेला खेलकुदका गतिविधि निकै कम हुन्थे । स्कूल पढ्न जाँदा महेन्द्र जयन्ती, पृथ्वी जयन्तीमा प्रतियोगितामा भाग लिन जानबाहेक दशैंतिहारको बेलामा हुने प्रतियोगिता नै थियो आफ्नो खेल देखाउने ठाउँ ।’ कुनै जयन्ती आउने बित्तिकै निकै रमाइलो लाग्ने उनको अनुभव छ ।
अहिले उनी ६५ वर्षका भए । तर कुनै पनि खेलकुद गतिविधिमा सहभागी भएर खेल्न पाउँदैनन् । उनी भन्छन्, ‘फुटबलमा मेरो उपस्थिति भए कस्तो रमाइलो हुन्थ्यो होला ।’ २०३९ सालमा ८ सय रुपैयाँबाट शुरू गरेको प्रशिक्षकको जागिर उनले २०७२ सालसम्म पुग्दा १९ हजार रुपैयाँसम्म थापेर छाडे । उनलाई त्यो बेला पैसा नभएको र अहिले पैसा भएर पनि खेलाडीले प्रगति गर्न नसकेकोमा निकै चिन्ता लाग्ने गर्छ । उनी भन्छन्, ‘त्यो बेला अहिलेजस्तो हातहातै पैसा आउँदैन्थ्यो । शिल्ड भनेकै सबैभन्दा ठूलो कुरा थियो । त्यो बेला कप पाउँदा पनि रातभरि निद्रा लाग्दैनथ्यो ।’
अब्बल नेतृत्व : नेतृत्वमा सधैं खरो रुपमा देखिने स्वभावका बानियाँ सत्यसँगै हिँड्ने र गलतको विरोध गर्ने स्वभाव भएका व्यक्ति हुन् । धेरैले उनलाई हक्की स्वभावका रुपमा चिन्छन् । उनी भन्छन्, ‘मेरो नेतृत्व गर्ने पक्ष राम्रो थियो, सबैले राम्रो नै मान्थे । अहिले अनुशासनभन्दा पैसाको कुरालाई केन्द्रमा राख्न थालियो, त्यो बेला अनुशासन धेरै थियो, पैसा हुँदैन्थ्यो ।’ ‘मैले देखेको कुरा जुन गलत छ म अहिले पनि गलत नै भन्छु,’ उनले भने, ‘टीममा पनि चित्त नबुझे बोलिहाल्ने हो ।’
जागिर खाएकाे १० बर्षसम्म रित्तै : जागिर खाएको १ वर्षपछि २०४० सालमा वैवाहिक बन्धनमा बाँधिएका बानियाँलाई खेलकुदबाट पैसा धेरै होला र जागिरको पैसाले घरपरिवार राम्रैसँग चल्ला भन्ने लागेको थियो । तर बिहे हुनुभन्दा अगाडि जति सुखी थिए, त्योभन्दा बढी दुःखी आर्थिक अभावको कारण समस्या खेप्नुपरेको उनको अनुभव छ । उनले जागिर खाएको १० वर्षसम्म पैसा जम्मा गर्नुपर्छ भन्ने कहिल्यै नआएको र पैसा जम्मा गर्न नसकेको बताए । केही थोरै अभावबीच कहिल्यै दबाब र प्रभावमा काम गर्नु नपरेको उनी सुनाउँछन् । उनले १ दशकमा १ रुपैयाँ पनि कमाउन नसक्दा घर परिवारबाट कहिलेकाहीँ कचकच भई नै रह्यो ।
चिया पसल प्यारो : उनले आफ्नो जीवनको उत्तरार्धको एउटा साथ र साथीभाइको भेटघाटको ठाउँ बनाएका छन् चिया पसल । उनलाई सबैभन्दा प्यारो लाग्ने चिया पसल, सम्राट स्पोर्टिङ क्लब अगाडि । उनी हरेक दिन बिहान ४ बजे उठेर घर सफा पार्नेसम्म सबै काम आफै सकेर साथीभाइ भएको ठाउँमा चिया खान पुग्छन् । उनी खेलकुदको राम्रा कुरालाई इज्जत सम्झन्छन् । तर कहिलेकाहीँ उनलाई एउटा कुराले सधैं नै पीडा भइरहन्छ, त्यो भनेको खेलकुदभित्र हुने भ्रष्टाचार । विभिन्न समयमा भएका भ्रष्टाचारका कुरा मात्र हैन, पछिल्लो समय विराटनगर महानगरपालिका–१९ मा बन्दै गरको अन्तर्राष्ट्रिय स्तरको खेल मैदानमा भएको भ्रष्टाचारबारे चित्त दुखाइ छ उनको । ‘कोही एकमुष्ट रकम हालेर बनाउने मान्छे आएर खेलमैदान बनाइदिए हुन्थ्यो,’ उनी भन्छन् । (प्रस्तुती : सुमन सुस्केरा)