झापामा मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा , कहिले होला उद्दार ?

झापामा मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा , कहिले होला उद्दार ?

दमक, मङ्सिर ६ गते । दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दै आएका छन् ।

त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने भनी थालिएको निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसक्दा उनीहरू बाढीपीडित टहरामा बस्न बाध्य भएका हुन् ।

विश्वका १८ मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले गएको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ फागुन ३० गते शिलान्यास गरिएको थियो । हालसम्म तीन वटा घर निर्माणाधीन अवस्थामा रहे पनि अन्य घर बनाउन भने कुनै छाँटकाँट देखिएको छैन ।

नमूना बस्तीको काम दुई वर्ष बित्न लाग्दासमेत अहिलेसम्म पूर्णता नपाएको दुखेसो बाढीबाट विस्थापित स्थानीय सुनिल मिस्त्रीको छ । उहाँले कष्टपूर्ण टहरा बसाइ छोटिएला भन्ने आशले बसे पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता नपाउँदा दैनिक समस्या भोग्नुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जाडोयाम शुरु भयो, टहराको दैनिकीले समस्या निम्त्याउन थालेको छ ।” टहराको बसाइले बूढाबूढी, बालबच्चा बढी प्रभावित हुँदैआएका छन् ।

त्यहाँ १० घर बनाइदिन स्थानीयस्तरमा एक निर्माण उपभोक्ता समितिमार्फत् काम शुरु भएको थियो । समितिका संयोजक प्रकाश प्रसाईंले विदेशमा रहेको समाजले समयमा पैसा पठाइदिन नसक्दा काम समयमै पूरा गर्न नसकिएको बताउनुभयो । उहाँले बाँकी रहेका अन्य सबै घर बनाउन समाजले पैसा पठाउने तय गरेको र छिट्टै घर निर्माण पूरा हुने बताउनुभयो । विस्थापितलाई नमूना बस्तीका रुपमा बसाउन स्थानीय एक दाताले तीन कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्