निर्मला पन्तका बुबा यज्ञराजलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइदै

निर्मला पन्तका बुबा यज्ञराजलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइदै

काठमाडौं मङ्सिर ९। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई शनिबार साँझ नै हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर  काठमाडौं ल्याउन लागिएको छ ।

उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बिमानस्थलबाट काठमाडौं ल्याउन लागिएको भएपनि यज्ञराजको अस्वाभाविक व्यवहारका कारण उनलाई जहाज चढ्न दिइएन । त्यसपछि उनीसँग आउने सबै टोली धनगढीमै रोकिएको थियो । उनलाई काठमाडौं आउन नदिईपछि केही बेर बिमानस्थलमा शनिबार साँझ तनाव समेत सिर्जना भएको थियो । राति नै धनगढीस्थित स्थानीय अस्पतालमा यज्ञराजलाई राखिएको परिवारका सदस्यले बताएका छन् ।

यज्ञराजसँगै रहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले आइतबार बिहान ६ः४० बजे बाह्रखरीसँगको कुराकानीमा आफूहरु एम्बुलेन्समा काठमाडौं आउने क्रममा दाङ् आइपुगेको बताएकी थिइन् । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार काठमाडौं पठाउनका लागि उनलाई कञ्चनपुरबाट धनगढी लगिएको थियो ।

काठमाडौं आइपुगेपछि उपचारका लागि उनलाई  शिक्षण अस्पतालमा लगिने सम्भावना रहेको बताइएको छ । विगत १५ दिनदेखि जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बसेका निर्मलाका बुबा यज्ञराजको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि काठमाण्डौ ल्याउन लागिएको हो ।

उनको स्वास्थ्य अवस्था दिनदिनै बिग्रिदै गएपछि परिवारको सहयोगमा उपचारका लागि काठमाण्डौ पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले शनिबार सञ्चारकर्मीलाई बताएका थिए । यज्ञराजलाई उपचारका लागि लगिएपनि अधिकारकर्मी र परिवारका अन्य सदस्यले भने धर्नालाई निरन्तरता दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्