६ महिनाको यात्रापछि नासाको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्दै

६ महिनाको यात्रापछि नासाको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्दै

एजेन्सी । नासाको अन्तरिक्षयान इन्साइटले ६ महिनाको लामो यात्रापछि मंगल ग्रहमा ऐतिहासिक अवतरण गर्ने भएको बताइएको छ । वैज्ञानिकहरु यसै दिनको पर्खाइमा महिनौँदेखि उत्साहित र चिन्तित रहँदै आएको सीएनएनले जनाएको छ । यसरी छ वर्षपछि नासाले पहिलोपटक मंगल ग्रह अवतरणको पुनः प्रयास गरेको हो ।

इन्साइटका प्रमुख वैज्ञानिक ब्रुस ब्यानर्टका अनुसार मंगल ग्रहमा अवतरण गर्नु अत्यन्तै कठिन कार्य हो किनकी लामो समयको निरीक्षण, अनुसन्धान र तयारीका बाबजुद अन्तिममा सानो गल्तीले पनि सबैलाई निराश बनाउने गरेको छ । तरपनि यसपटकको यन्त्र भने चन्द्रमा अवतरणका क्रममा अपोलोले प्रयोग गरे जस्तै कोन आकारमा रहेको बताइएको छ जसका तीनवटा खुट्टा छन् र मुनिपट्टी रहेको तापमान निरोधकले मंगलको वायुमण्डल प्रवेश गर्न मद्दत गर्ने बताइएको छ । सो यानले मंगल ग्रहको हावामा १२,३०० मिटर प्रतिघण्टाको गतिमा यात्रा गर्ने बताइएको छ ।

यसरी वायुमण्डलमा प्रवेश गरिसकेपछि इन्साइटलाई मंगल ग्रहको जमिनमा अवतरण गर्न सात मिनेट लाग्नेछ जसक्रममा यन्त्रले अटोमेटिक काम गर्ने बताइएको छ । यसैकारण यो समयलाई वैज्ञानिकहरुले ‘सात मिनेटको संत्रास’ नाम दिएका छन् । किनकी मंगल ग्रहलाई विफल यानहरुको प्रमुख चिहानघर मानिन्छ । हालसम्म विश्वका विभिन्न अन्तरिक्ष एजेन्सीहरुले ४४ पटक मंगल ग्रह पुग्ने प्रयास गरिसकेका छन् जसमध्ये केबल अठार मात्र सफल भएका हुन् । त्यसमा पनि तीनवटा ग्रहको वायुमण्डलसम्म पुगेपनि अवतरण गर्न भने विफल भएका थिए ।

तर इन्साइट भने पछिल्ला यानहरु जसरी यताउती नघुम्ने र एकैठाउँमा बसेर ग्रहको आन्तरिक विशेषताबारे जानकारी लिइरहने बताइएको छ । वास्तवमा त्यसमा जडान हम्मरले मंगलको जमिनमा ५ मिटरको गहिराइसम्म खन्ने बताइएको छ जसले त्यहाँको आन्तरिक तापमानबारे जानकारी दिन सक्नेछ भने अत्याधिक प्रविधियुक्त सिस्मोमिटरले त्यहाँको कम्पन पनि मापन गर्ने बताइएको छ । आजसम्म जतिपटक मंगलमा यन्त्रहरु अवतरण गरेपनि कुनै सिस्मोमिटरले काम गरेका छैनन् र कसैले पनि त्यति गहिरोसम्म खन्न नसकेको बताइएको छ । यसकारण पनि नासाको यो मिसनलाई निकै उत्साहपूर्वक हेरिएको छ भने लामो समयदेखि यसबारे अत्याधिक चर्चा भइरहेको छ ।

तरपनि इन्साइटमा जिवित प्राणीको खोजी गर्ने प्रविधि भने नरहेको हुँदा सो काम भविष्यका अन्तरिक्ष यानहरुलाई छाडिएको बताइएको छ । यसरी मंगल ग्रहको भित्री तापमान र कम्पनबारे थोरै जानकारी हासिल गर्नाले पनि धेरै ठूलो काम गर्ने बताइएको छ । जस्तै सो डाटाको मद्दतले मंगलको मात्र नभएर धेरै वर्ष अगाडि पृथ्वी कसरी बनेको थियो भन्ने पनि पत्ता लगाउन सकिने बताइएको छ । यसैगरी वास्तवमै मंगलमा पानीको सम्भावना भए नभएको बारे पनि स्पष्ट हुन सकिनेछ । यसअघि नै मंगल ग्रहमा पानी भेटिएको दाबी गरिएपनि पर्याप्त प्रमाणको अभावमा त्यसलाई अन्तिम निष्कर्षका रुपमा लिइएको थिएन । यता ६ महिनाको लामो यात्रा इन्साइटले एक्लै भने पार गरेको होइन । त्यसैको पछिपछि विश्वको पहिलो क्युब आकारको अन्तरिक्ष ‘मार्को’ पनि मंगल ग्रहको वायुमण्डलसम्म पुग्ने बताइएको छ । दुईवटा सुटकेस बराबर रहेको मार्कोले इन्साइटको अवतरणबारे जानकारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्