योगदानमा आधारित पेन्सन योजना सुरु हुदै

योगदानमा आधारित पेन्सन योजना सुरु हुदै

सीता शर्मा

काठमाडौँ, मङ्सिर ११ गते । सरकारले ‘मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा’ भन्ने नाराका साथ पहिलो सामाजिक सुरक्षा दिवस मङ्गलबार मनाउँदैछ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनलाई सरकारले सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा यो दिवस मनाउने तयारी गरिएको छ । श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित पेन्सन योजना प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार देशभर एकैपटक कार्यक्रम लागू भएको घोषणा गर्नु हुनेछ । 

श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी नीतिमै व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता डा. रेग्मीले कार्यक्रम लागू भएपछि देशमा सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको सुरुवात हुनुका साथै दिगो व्यावसायिक वातावरण, असल श्रम सम्बन्धको निर्माण र आमश्रमिकको मर्यादित जीवनका लागि सर्वाधिक महत्व रहने बताउनुभयो ।

सहभागिता, योगदान र सामाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा कार्यक्रममा समेटिएका छन् । उहाँले श्रमिक र रोजगारदाताले गरेको योगदानले श्रमिकको सुरक्षित भविष्य सुनिश्चित गरी सबै श्रमिकलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो योजना लागू भएपछि कर्मचारी तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने र रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुने अपेक्षा श्रम मन्त्रालयको छ ।

नेपालको संविधानको धारा ३४ को उपधारा (२) मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सोहीअनुरुप नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारले विभिन्न सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

यसको सफल कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ भने संस्थागत पूर्वाधारका रूपमा सामाजिक सुरक्षा कोष २०६७ चैत ७ गते स्थापना भई सञ्चालनमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्