एजुकेसन कन्सलटेन्सी तथा परामर्शदाताबाट ठगिने बिद्यार्थी बढे

एजुकेसन कन्सलटेन्सी तथा परामर्शदाताबाट ठगिने बिद्यार्थी बढे

सीता शर्मा

काठमाडौँ, मङ्सिर १३ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएका शैक्षिक परामर्शदाता कम्पनी (एजुकेसन कन्सलटेन्सी) बाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३२ करोड ६५ लाख रुपियाँ बढीको ठगी भएको छ । यो नेपाली श्रमिकलाई विदेशका विभिन्न मुलुकमा पठाउन सरकारी ‘लाइसेन्स होल्डर’ वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सलटेन्सीलगायत अन्य विभिन्न व्यक्तिगत तवरबाट ठगी भएको रकम हो ।

चार महिनाको अवधिमा विभागमा ७७५ वटा उजुरी परेकोमा संस्थागत उजुरीको सङ्ख्या ४३४ वटा र व्यक्तिगत उजुरीको सङ्ख्या ३४१ वटा रहेका छन् । व्यक्तिगत र संस्थागत उजुरी सङ्ख्यात्मक रूपमा हेर्दा संस्थाविरुद्ध धेरै उजुरी देखिए पनि रकमको तुलना गर्दा व्यक्तिबाट हुने ठगी डरलाग्दो देखिएको छ । व्यक्तिगत ठगीका उजुरीको अवस्था हेर्दा साउन र भदौमा १८६ वटा र असोज र कात्तिकमा १५५ वटा रहेको विभागले जनाएको छ । यसैगरी संस्थागततर्फको ठगी उजुरी साउन र भदौमा २४४ छ भने असोजमा १९० वटा उजुरी परेका छन् । 
विभागका महानिर्देशक दिलीपप्रसाद चापागार्इंका अनुसार व्यक्तिगत रूपमा वैदेशिक रोजगारीका नाममा हुने ठगीको रकम बढिरहेको छ । तथ्याङ्क अनुसार व्यक्तिगत ठगीतर्फ १७ करोड रुपियाँभन्दा बढी रहेको छ र संस्थागततर्फ १५ करोड ५३ लाख ७४ हजार रुपियाँ बढी ठगीको दाबी गर्दै विभागमा उजुरी परेको छ ।

विभागमा दर्ता भएका ७७५ वटा उजुरीमध्ये २५४ उजुरीको फरफारक भएको विभागले जनाएको छ । यसमा संस्थागततर्फ २१२ र व्यक्तिगततर्फ ४२ वटा उजुरीको छिनोफानो भएको छ ।

यसबाट विभागले पाँच करोड २२ लाख ५८ हजार रुपियाँभन्दा बढी बिगो रकम भराएको छ । महानिर्देशक दिलीप चापागाईंले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सुधारका पक्षमा धेरै कदम चालिएको बताउनुभयो ।

महानिर्देशक चापागाईंका अनुसार सो अवधिमा संस्थागत रूपमा आएका उजुरीमा रोजगार व्यवसायी कम्पनीले श्रमिकलाई भनेको काम, तलब तथा सुविधामा नपठाएको, भनेको भन्दा अर्कै कम्पनीमा पठाएको जस्ता उजुरी प्राप्त भएका छन् । कतिपय श्रमिकलाई व्यवसायीले नेपालबाट पठाएर सम्बन्धित मुलुकमा पु¥याएर अलपत्र पारेको समेत विभागमा आएको उजुरी आएको पनि उहाँले बताउनुभयो ।

अमेरिका, युरोप पठाइदिने लोभ देखाएर १५ लाख रुपियाँसम्म ठगी गरेका उजुरी आएको र ती उजुरीमध्ये अधिकांश अदालतमा मुद्दा चलाइएको उहाँको भनाइ छ । विभागका अनुसार अदालतमा चालू आर्थिक वर्षको चार महिनामा ५९ वटा व्यक्तिगत गठी गरेका मुद्दा दर्ता गराइसकेको छ ।
विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउनेको सङ्ख्या ठूलो भएको भन्दै चापागाईंले भन्नुभयो संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ ।

रोजगार व्यवसायी कम्पनीको नाममा आउने उजुरी विभागबाट टुङ्गिने खालका हुने गरेको तर व्यक्तिगत उजुरीमा व्यक्तिले ठग्ने भएकाले ठगीको कानुन अनुसार अदालतमा मुद्दा दर्ता गरिनुपर्ने उहाँले बताउनुभयो ।

व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा आठ करोड १७ लाख १५ हजार रुपियाँभन्दा बढी बिगो रकम बिगो दाबी गरिएको छ तर संस्थागततर्फको उजुरीकै आधारमा विभागले रोजगार कम्पनीलाई अहिलेसम्म ११ लाख रुपियाँ जरिवाना गरिसकेको छ । रोजगारीका लागि अहिले दैनिक करिब एक हजारदेखि एक हजार आठ सय युवाले विभागको श्रम कार्यालयबाट श्रम स्वीकृति लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्