विष्णुकुमारी लामिछाने

Advertisement

छोरालाई मात्र सन्तान ठान्ने हाम्रो समाज अझै पनि छोरीप्रति आशा र विश्वास गर्न सक्दैनन् । छोरीले कठिन परिस्थितिमा सहयोग गर्न सक्छे भन्ने भरोसासम्म अभिभावकमा छैन । बाहरूको त कुरै छोडौँ, आमाहरू पनि छोराको पछाडि लागिरहेका छन् । आफ्ना छोराहरूको कारणले बुढेसकालमा रोइरहेका बाआमा पनि छोरो नै सर्वेसर्वा हो भन्न पछि परेका छैनन् । हाम्रा धार्मिक संस्कारमा मरेपछि कर्मकाण्ड पूरा गर्ने उत्तराधिकारी छोरोलाई मानेकोले पनि हाम्रा अग्रज मरेपछि पनि छोरो नभई हुँदैन भन्ने मानसिकता बोकिरहेका छन् जसको कारण दोस्रो दर्जाको सन्तानको रुपमा छोरी परेका छन् ।

यसले छोरीमा बाबुआमाप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने सोंचको विकास गर्न सकेको हुँदैन ।


समयको अन्तरालसँगै सन्तान जन्माउने दर घटे पनि छोरीप्रति गरिने विभेद कायमै देखिन्छ । कानूनको दृष्टिमा दुवै सन्तान बराबर मानिए तापनि हाम्रा परापूर्व कालदेखि चल्दै आएको संस्कार, धार्मिक मान्यता र व्याख्या, सोहीअनुरूपको मानसिकता र व्यवहार अनि सामाजिकीकरण प्रक्रियामा छोरा र छोरी बराबर हुन सकेका छैनन् । जसको कारण छोरा र छोरीको फरकफरक किसिमको व्यक्तित्व विकास हुने गर्छ । छोरा होस् या छोरी उनीहरूको विकास उनीहरूसँग राखिने अपेक्षा र गरिने व्यवहारसँग प्रत्यक्ष सम्बन्ध रहन्छ । आशा, अपेक्षा र व्यवहार हाम्रा मूल्य, मान्यता, धार्मिक व्याख्या साथै संस्कारबाट निर्देशित भएका हुन्छन् ।

गर्भमा रहेको भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने प्रचलन पनि बढ्दो छ । पहिले पहिले छोरीहरू जन्मिएपछि मात्र विभेदको शिकार हुने गर्थे तर प्रविधिको युगमा छोरीहरू गर्भमै निमोठिन थालेका छन् । भ्रुण पहिचान गरी गर्भपतन गराउनेमा आर्थिक रूपमा सम्पन्नदेखि विपन्नसम्म, पढेलेखेकादेखि निरक्षरसम्म र समाजमा प्रतिष्ठितदेखि सर्वसाधारणसम्म रहेका छन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १३ गर्भे संरक्षण विरुद्धको कसूरअन्तर्गत दफा १८८ को उपदफा ७ मा कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन भन्ने उल्लेख छ । यसरी लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद तथा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई थप एक वर्ष कैद हुने व्यवस्था उपदफा ८ मा गरिएको छ । तथापि कानूनी कारबाही प्रभावकारी बन्न नसक्दा लिङ्ग पहिचानसहित भ्रुण हत्या भइरहेका छन् ।

हाम्रो समाजमा रहेका कैयौँ संस्कारमध्ये वैवाहिक संस्कार एक हो जसको कारण छोराछोरीमा नजन्मिँदै विभेदको शुरुवात हुन्छ । हिजोआज त विवाह झनै भड्किलो बन्दै गइरहेको छ । छोरी जन्माउने बाबुआमालाई छोरीको विवाहले अत्यन्तै तनाव दिइरहेको हुन्छ । राजनीतिक तवरबाट नै दाइजो प्रथा उन्मूलनका प्रयासहरू हुनुपर्नेमा उल्टै यस प्रथालाई प्रश्रय दिने व्यवहारहरू गरिएका देखिन्छन् । बुहारीहरू इज्जतदार, सम्मानित हुनु वा नहुनु उनीहरूले ल्याएको दाइजोसँग जोडेर हेर्ने गरिन्छ । अपेक्षाअनुरूपको दाइजो प्राप्त गर्न नसक्दा परिवारले गरेको अपमानित व्यवहार र घोचपेच आदि सहेर बस्न बाध्य बनिरहेका छन् । दाइजोको कारण नै कति छोरीहरू मृत्युको मुखमा पर्ने गरेका छन् । ‘छोरी जति पढायो उति दाइजो बढायो’ भन्ने मानसिकताबाट गुज्रेको हाम्रो समाजले छोरीको बालविवाह अथवा परिपक्व नहुँदै विवाह गरिदिनाले पनि उनीहरूको चौतर्फी विकासमा अवरोध पुगेको छ । आफ्नै मञ्जुरीमा विवाह गर्ने केटाकेटीबाहेक अभिभावकको मञ्जुरीमा विवाह गरिदिँदा छोरीलाई उमेर नपुगी विवाह गरिदिने र छोरा परिपक्व भइसकेपछि, आफ्नो खुट्टामा उभिने भएपछि मात्र गरिदिनुपर्छ भन्ने विभेदित मान्यता पनि कायमै छ ।

श्रीस्वस्थानी व्रत कथामा होस् वा रामायणजस्ता धार्मिक ग्रन्थमा नै किन नहोस् छोरीको महìव र भूमिकालाई तल पारेर व्याख्या गरिएको छ । यस्ता ग्रन्थहरूबाट ओतप्रोत भएको हाम्रो समाजले छोरा र छोरीहरूलाई हेर्ने फरकफरक दृष्टिकोण बनाएको पाइन्छ । धार्मिक व्याख्याको प्रत्यक्ष प्रभाव छोरीहरूमा परेको छ, महिलाहरूमा परेको छ । वार्षिक रूपमा लिइने व्रतहरू जस्तै श्रीस्वस्थानी, ऋषिपञ्चमी पूजालगायत मृत्युपश्चात् गरिने संस्कार साथै तिहार (भाइटीका) जस्ता महान् चाडपर्वका धार्मिक मान्यताहरूमा छोराकै महìव झल्किने गरी व्याख्या गरिएको पाइन्छ । चाडपर्व, सामाजिक मूल्य मान्यता र संस्कारले छोराको नै माग गर्ने भएपछि अभिभावकहरू छोराको पछाडि लाग्दछन् ।

नेपालको संविधानलगायत अन्य कानूनहरूमा पनि लैङ्गिक समानताको आवाज उठेसँगै छोराछोरी बराबरी भन्ने नारा सबैको जिब्रोमा नझुण्डिएको पनि होइन । परिवारमा शिक्षा, दीक्षा, लालनपालन, भरणपोषण इत्यादि विषयमा दुवैलाई समान गरेजस्तो पनि नगरिएको होइन । सृष्टि चल्नलाई छोराको जत्तिकै महìव छोरीको पनि छ भन्ने हेक्का नभएको पनि होइन । परिवारमा महिलाको मृत्यु वा विछोडलाई एक महिनासम्म पनि सहन सकिँदैन भन्ने व्यवहार पनि नदेखाइएको होइन । यति हुँदाहुँदै पनि किन भ्रूण हत्या हुन्छ, किन छोरै जन्माउनका लागि अनावश्यक दबाब दिइन्छ, किन अपव्याख्या गरेर मानसिकता गिराइन्छ र धार्मिक संस्कारमा विभेदजन्य व्यवहारलाई निरन्तरता दिइन्छ ?

पछिल्लो समयमा केही दम्पत्ति जे भए पनि एक वा दुई मात्र सन्तानलाई पर्याप्त ठान्ने गरेका छन् । जसमा छोरा जन्मिएमा अर्को सन्तानको माग आउँदैन तर छोरी जन्मिएमा जन्मिँदा बित्तिकैदेखि अर्थात् प्रसव पीडा बिर्सन नपाउँदै अर्को सन्तान त्यो पनि छोराकै माग आउन थाल्छ । परिवारका सदस्यको त कुरै छोडौँ छिमेकीहरू ‘विचरा, छोरी नै जन्मिछ’ भन्दै कुरा गर्न शुरु गर्दछन् । समाज यति अचम्मको भयो कि जन्माउनेलाई भन्दा पनि अरूलाई छोराको अभावको महसुस हुने ! आवश्यकता त जन्माउनेलाई हुनुपर्ने हो नि !

समय परिवर्तनशील छ, छोरा र छोरीलाई हेर्ने दृष्टिकोण पहिलेभन्दा अहिले क्रमिक रूपमा सुधार हुँदै गएको महसुस गर्न सकिन्छ, तर पनि विभेद गर्न दुरुत्साहन गर्ने सामाजिक संस्कार, चाडपर्व, मूल्य मान्यता, प्रथा परम्परा कायम नै छन् । जबसम्म यस्ता प्रचलनहरू यथावत रहन्छन् छोराको मागले निरन्तरता पाइरहने देखिन्छ यसर्थ संस्कारहरूलाई पनि विस्तारै परिवर्तन गर्दै लैजानु आवश्यक देखिन्छ । अन्यथा छोरालाई अनिवार्य शर्तका रूपमा हेर्ने परिपाटीमा सुधार आउन नसकी छोरीलाई कम आँक्ने र विभेदपूर्ण व्यवहार गर्ने परिपाटीको अन्त्य हुन सक्दैन ।

प्रतिक्रिया लेख्नुहोस