गरिखानेको कुरा : जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर !

गरिखानेको कुरा : जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर !

तेह्रथुम, १३ मङ्सिर । परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् ।

धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै युवामध्ये एक छन्, मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । उनी तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत हुनुहुन्थ्यो तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उनको दैनिकी परिवर्तन भयो । अहिले उनले टिना जडीबुटी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जडीबुटीको व्यवसाय गर्दै आएक छन् ।

 

०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक बन्नुभएका अधिकारीले अहिले कृषि फार्ममा थुप्रै जातका जडीबुटी लगाए । फार्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत ५० बढी जातका जडीबुटी पाइन्छ ।

यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताए । शुरुआतमा रु पाँच लाख ५० हजारले थालेको जडीबुटी खेतीमा हालसम्म रु २८ लाख बढी लगानी भइसकेको उनले बताए । पचास रोपनी आफ्नो जग्गा र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फार्मबाट उनले वार्षिक रु १० लाख मुनाफा कमाउने लक्ष्य राखेको पनि बताए । अहिले कमाइ अलि कम छ । उद्देश्यअनुसार लगानी र मेहनत गरिरहे पनि खेती थपिँदै गएकाले आम्दानी बढ्ने क्रममा मात्रै भएको उनले बताए ।

माओवादी द्वन्द्वकालमा उनले फष्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताउनुभएको थियो । २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा समूहको सदस्यसमेत भएर काम गरेको उनी बताउँछन् । उनले २०६२÷०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएको बताए ।

सेना समायोजनमा नपरेपछि उनले साधारण जीवन नै रोजे । अहिले पनि उहाँलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यावसायिक बन्ने योजना बनाएको उनी बताउँछन् । माओवादी सशस्त्र द्वन्द्वपछि घर फर्किएर उनले धेरै कमाउनेभन्दा पनि थोरै तर आफ्नै देशमा कमाउने सोच बनाएको बताउनुभयो । त्यही सोचेर पाँचथर स्थायी घर भएका अधिकारी मेन्छ्यायेम गाउँपालिकामा बसाइँ सरे ।

त्यसपछि उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उनी बताउँछन् । नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ ।

विनोदलाई जडीबुटी खेती र व्यवसायमा श्रीमती मथुराले सघाउँछन् । श्रीमान्–श्रीमती दुईले फार्मको काम गर्ने गरेको र आवश्यक पर्दा अन्य कामदार पनि लगाउने गरिएको अधिकारीले बताए । “घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन”, अधिकारी भने, “अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो, तर नेतामाथि पुगे पनि नेपाली जनताका लागि भने खुशीका दिन आउन बाँकी नै छ ।”

व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट हुनुहन्छ । बिहानदेखि साँझसम्म अधिकारी जडीबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त छन् । “पैसा कमाउन जागीरै खानुपर्छ, अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ”, उनले भने ।

चिया नर्सरीका लागि गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडबाट रु २५ हजार प्राप्त गरेको अधिकारीले बतानए । व्यवसायलाई अझै बढाएर लैजाने र उत्पादित वस्तुलाई नेपालका स्थानीय बजारका साथै छिमेकी राष्ट्र चीन र भारतसम्म पनि बिक्री गर्न लैजाने योजना रहेको अधिकारीले बताए ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्