मोरङका ३५ उद्योगीले अझै कर बुझाएनन्, २१ करोड ८४ लाख कर उठाउन बाँकी

मोरङका ३५ उद्योगीले अझै कर बुझाएनन्, २१ करोड ८४ लाख  कर उठाउन बाँकी

बिराटनगर, १५ मङ्सिर । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर बुझाएका छैनन् ।  कार्यालयले ७ जेठमा ३७ करदाताको स्थायी लेखा नम्बर, नाम, ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो । उनीहरूबाट २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ रुपैयाँ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार ७ सय ३९ रुपैयाँ कर मात्र संकलन भयो ।

बाँकी २१ करोड ६० लाख ७४ हजार ८ सय ८७ रुपैयाँ कर असुल्नुपर्ने देखिन्छ । यसमा १६ करोड २१ लाख ४६ हजार ९ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा ५ करोड ३९ लाख २७ हजार ९ सय ५० रुपैयाँ आयकर समावेश छ ।

‘धेरैजसो सम्पर्कमै आएका छैनन्,’ कार्यालयका प्रमुख दिलीपकुमार गौतमले भने । राजस्व कार्यालयले एकै पटक उनीहरूविरुद्ध कर दाखिलाका लागि सूचना जारी गरेको पनि होइन । सबैभन्दा पहिले स्थलगत भ्रमण गरी फेला परेको व्यवसायीलाई भेटेरै उक्त कार्यालयका अधिकृतहरूले कर भुक्तानीका लागि अनुरोध गरेको उनले बताए ।

केही करदाताले अभिलेखमा टेलिफोन नम्बर र ठेगानासमेत गलत भरेकाले कर संकलन अधिकृतहरूले सम्पर्क गर्न सकेनन् । उक्त कार्यालयले केहीलाई हुलाकबाट रजिस्ट्री पत्र पठायो । ‘हुलाकीले करदाता फेला नपार्दा ती पत्रहरूसमेत कार्यालयमै फिर्ता आए,’ उनले भने, ‘कतिले त विवरण नै बुझाएका छैनन् ।’ कर तिर्न नआएपछि उक्त कार्यालयले आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) अनुरूप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

मोरङमा अहिले ४२ हजार ५ सय करदाता छन् । यसमध्ये १५ हजार करदाता रहेको मोरङको उदीयमान सहर सुन्दर हरैंचा नगरपालिको विराटचोकमा १८ भदौदेखि करदाता सेवा कार्यालय नै राखिएको छ । बाँकी २७ हजार ५ सय करदातामा झन्डै ७० प्रतिशत विराटनगरकै छन् । ‘विभिन्न बहानामा कर नतिर्ने प्रवृत्ति औद्योगिक नगरी विराटनगरकै करदातामा बढी छ,’ गौतमले भने, ‘उनीहरूमा कर शिक्षा वा चेतना नभएको पनि होइन । भ्याट बिल नकाटदा वा आय विवरण नबुझाउँदा, कर नतिर्दा कसले खोजबिन गर्छन् भन्ने गलत सोच करदातामा देखियो, यही कारणले उनीहरूको बक्यौता बढयो ।’

उक्त कार्यालयले आव २०७४/७५ मा पुरानो बक्यौताबापतको ५९ करोड ३३ लाख कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व उठ्न सक्यो । एउटै फर्म वा उद्योगी व्यवसायीले विभिन्न खाले करबापत बुझाउनुपर्ने २ हजार ५ सय ३ वटा बक्यौतामा ३ सय ४३ वटामा मात्र असुली हुन सकेको उनले जनाए ।

‘यही खराब करदाताको भीडबाट लामो समयदेखि कर बक्यौता राख्ने ३७ उद्योगी व्यवसायी खोजी गरेका थियौं,’ उनले भने, ‘दुईले बुझाए ।’ यो सूचीमा २०५९ सालदेखि नै कर नबुझाउने पनि छन् । कुल करदाताले बुझाउनुपर्ने बक्यौताको ३६.४२ प्रतिशत यी ३५ जनाको नाउँमा देखिएको गौतमले जनाए ।

‘पहिलो चरणमा बैंक खाता, घरघडेरीको किनबेच एवं आयात निर्यात रोक्का गर्‍यौं,’ उनले भने, ‘दोस्रो चरणमा पत्रपत्रिकामा नाम सार्वजनिक गर्‍यौं, अन्तमा सम्पत्ति लिलामी र मुद्दा प्रक्रियामा जान्छौं ।’ कर कार्यालयले खोजिरहेको सूचीमा परेका ३५ मध्ये रिचार्ज कार्डको कारोबारी धेरै रकम नबुझाउनेमा पर्छन् । विराटनगर ७ शनिहाट गोल्छाचोकको जयसवाल मार्केटस्थित जयबाबा सप्लायर्सका ५३ वर्षीय सतीशकुमार जयसवालले ७ करोड २५ लाख ८ हजार ६ सय ४८ रुपैयाँ कर नबुझाएका हुन् ।विराटनगर २ शंकरपुरस्थित मकालु इन्टरप्राइजेज एन्ड सप्लायर्सका सञ्चालक मुकुन्दप्रसाद चापागाईले २ करोड ५३ लाख ५९ हजार ४ सय ३९ रुपैयाँ मूल्य अभिवृद्धि कर तिरेका छैनन् । छाला तथा भुवा प्रशोधनसम्बन्धी कार्य गर्ने विराटनगर ६ सरोचियाको युनिभर्सल लेदर इन्डस्ट्रिज प्रालिका सञ्चालक जाकिर हुसैन हकले १ करोड ९५ लाख १ हजार ९ सय ३३ रुपैयाँ कर बक्यौता राखेका छन् ।

विविध प्रकारको ठेक्कापट्टा गर्ने विराटनगर ३ स्थित रौताहा विश्व अम्बिका जेभीका सञ्चालक कमलप्रसाद गौतमले २३ लाख ३१ हजार ४ सय ८८ रुपैयाँ भ्याट नतिरेको उक्त कर कार्यालयको रेकर्डमा देखिन्छ । ‘तिर्नुपर्ने त त्यसको आधा हो, ब्याजले गर्दा बढेको हो,’ वरिष्ठ राजनीतिकर्मीसमेत रहेका गौतमले भने, ‘आफ्नै केही समस्याले गर्दा कर बुझाउन सकेको छैन, बुझाउने तयारीमा छु ।’ (कान्तिपुरबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्