भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् ।
विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएका छन् । नौ दिनसम्म चल्ने अनुष्ठानमा महाभारतकालीन घटनाक्रम एवं धामको उत्पत्तिबारे विद्युतीय जानकारी समेत राखिएको छ । सो जानकारी लिनका लागि धेरैजसो धाममा आउने भक्तजनको भीड लाग्ने गरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।
उनका अनुसार धामका बारेमा विद्युतीय जानकारी लिनका लागि ज्येष्ठ नागरिक र विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० लिने गरिएको छ । महायज्ञमा दैनिक गङ्गा आरती हुने गरेको छ ।
धामको ऐतिहासिक मूल पोखरीभित्र कलात्मक सङ्गीतमय फोहोरा प्रदर्शनी, लक्ष्यवर्तीका प्रज्वलनलगायतको व्यवस्था गरिएको छ । भागवतभूषण कौशीकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट अमृतमय कथा प्रवचन भइरहेको छ । पुराण शुरु भएको आज छैटौँ दिनसम्ममा धाममा आउने भक्तजनको सङ्ख्या ९० हजार बढी भएको अध्यक्ष गट्टानीले बताउनुभयो । महापुराण यही मङ्सिर २० गते अर्थात् बाला चर्तुदशीको दिन समापन हुनेछ ।(न्युज २४)