झापामा यसरी आफै लागे बिद्यार्थी क्रिकेट मैदान तयार पार्न

झापामा यसरी आफै लागे बिद्यार्थी क्रिकेट मैदान तयार पार्न

झापा । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आगामी माघ पहिलो साता अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ वर्ष अघिदेखि झाँडीले पुरिएको क्रिकेट मैदान तयार गर्न विद्यार्थी यतिबेला व्यस्त छन् ।

 

कम्तीमा प्रदेशस्तरीय अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता गर्न झण्डै २ विघा क्षेत्रफलको खेल मैदानमा रेहेको घाँस, झाँडी र बुट्यान हटाउन विद्यार्थीसहित ८ जना कामदार खटिएका छन् । स्रोत साधनले भ्याए राष्ट्रिय स्तरको अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको स्ववियू सभापति भुवन बुढाथोकीले बताए । ‘लक्ष्य चाहिँ हाम्रो राष्ट्रियस्तरको प्रतियोगिता गर्ने नै हो ।’ सभापति बुढाथोकीले भने, ‘बजेटले नपुगेको खण्डमा मात्र प्रदेश स्तरीय गर्ने सोच छ ।’

बुढाथोकीका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ रकम लाग्ने अनुमान गरिएको छ । मैदान तयार गर्न र प्रतियोगिता सञ्चालन गर्न क्याम्पस, नगरपालिका, खेलकुद विकास समिति र स्पोन्सरबाट रकम संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ । क्रिकेट मैदानको पिच तयार गर्न नगरपालिकाले ७ दिन रोलर मेसिन दिने भएको छ ।

मेची क्याम्पसको सो मैदान र एउटा भवन भाडामा लिएर क्यान झापाले क्रिकेटका गतिविधि सञ्चालन गर्दै आएको थियो । तर विगत पाँच वर्ष देखि उक्त मैदान घाँस र झाँडीले भरिएको सभापति बुढाथोकीले बताए । ‘यो मैदानलाई पुर्नजीवन दिन पनि हामीले प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ’ उनले भने, ‘यो झापाकै उत्कृष्ट क्रिकेट मैदान बन्न सक्छ ।’

मैदान तयार भएपछि मात्र प्रतियोगिताको सम्पूर्ण खाका तयार गरिने बताइएको छ । प्रतियोगिताबाट बचेको रकमले अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ती कोष खडा गर्ने आयोजकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्