ताप्लेजुङमा ७० प्रतिशत कममा ठेक्का

ताप्लेजुङमा  ७० प्रतिशत कममा ठेक्का

ताप्लेजुङ, १९ मङ्सिर ।  सिरिजंघा गाउँपालिकाले गत असोजमा १ करोड ५८ लाख रुपैयाँमा सडकको टेन्डर खुलायो। फुन्द्रेवा–मामांखे–याम्फुदिन–कञ्चनजंघा मोटरबाटोको ठेक्का झापाको चारघरे कन्स्ट्रक्सनले ४६ लाख रुपैयाँमा पारेको छ। यो कुल रकमको ७० प्रतिशत कम हो।

घटाघट गरी कम मूल्यमा ठेक्का सकार्नेलाई दिने प्रणालीअन्तर्गत यो योजना गाउँपालिकाको अनुमानभन्दा एकतिहाइ कम बजेटले सम्पन्न गर्नुपर्ने हुन्छ। अन्य दुई कम्पनीले क्रमशः ७० र ७१ लाखमा प्रस्ताव हालेका थिए। केही दिनमै ठेकेदारसँग सम्झौता गरी काम सुरु गरिने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए। ‘यति कममा ठेक्का पर्ला भनेर सोचेका थिएनौं’, अध्यक्ष गुरुङले भने, ‘बचेको बजेटले अन्य काम गर्छौं।’ भीर र पहरा फोड्नुपर्ने भएकाले गाउँपालिकाले ठूलो रकम खर्च हुने अनुमान गरेको थियो।

ताप्लेजुङमा कम मूल्यमा ठेक्का आयोजना लिने क्रम बढ्दो छ। सिरिजंघाको योजना ४६ लाखमा सम्पन्न हुनै नसक्ने निर्माण व्यवसायी बताउँछन्। ‘भूगोलको अध्ययन नगरी झापाबाटै ठेक्का हालेछन्’, एक निर्माण व्यवसायीले भने, ‘दुई किलोमिटर पहरा काट्नुपर्ने हुँदा निर्माण व्यवसायीलाई निकै घाटा पर्छ।’

सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का लिएर काम नगरे कम्पनी नै कालोसूचीमा पर्छ। त्यसैले घाटा भए पनि काम गर्न बाध्य हुनुपर्ने पोमू कन्स्ट्रक्सनका दिजेन पोमूको भनाइ छ। उनका अनुसार स्थानीय सरकार गठनपछि उपभोक्ता समितिमार्फत विकासका काम लगाउने प्रवृत्ति बढेको छ। ‘त्यसैले हत्तपत्त ठेक्का खुल्दैन, खुलेको बेला पर्छ कि भनेर घटेर हाल्ने प्रवृत्ति बढेको हो’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्