विराटनगर, १९ मङ्सिर । प्रदेशलाई ‘आई केयर टुरिज्म’ केन्द्रको रुपमा विकास गरिने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
बुधवार विराटनगरमा नेपाल नेत्र ज्योति संघ र अरविस अन्तर्राष्ट्रिय संस्थाले शुरू गरेको स्कूले बालबालिकामा देखिने दृष्टिदोष निवारण कार्यक्रमको उद्घाटनको क्रममा मुख्यमन्त्री राईले प्रदेशलाई आँखाको हेरचाह पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताएका हुन् । प्रदेशमा धेरै सम्भावना भएर पनि पछि परेकाले अब आँखा सम्बन्धी एउटा छुट्टै‘आई केयर टुरिज्म’ केन्द्रको रुपमा प्रदेशलाई स्थापित गर्न सकिने बताए । आँखा परीक्षणको क्षेत्रमा १ नम्बर प्रदेश त्यसमा पनि विराटनगर अगाडि रहेको दाबी गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई आई केयर टुरिज्म केन्द्रका रुपमा स्थापित गर्न सकिने बताए ।
अन्य उपचारका लागि भारत लगायत अन्य देशमा जानुपर्ने बाध्यता रहेपनि आँखा परीक्षणका लागि बर्सेनि भारतबाट लाखौंको संख्यामा बिरामी विराटनगर आउने गरेकाले पनि आई केयर टुरिज्मको रुपमा विकास गर्न सकिने आधार उनले प्रस्तुत गरे ।
नेपाल नेत्र ज्योति संघ र अरविस अन्तर्राष्ट्रिय संस्थाले सुनसरी र मोरङको विराटनगर महानगरपालिकाका स्कूले बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रम शुरू गरेको छ । कार्यक्रम अवधिमा २ लाख ८० हजार स्कूले बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । उनीहरूलाई निःशुल्क औषधी र ६ हजार चस्मा वितरण गरिने कार्यक्रम छ ।