मोरङमा मल र बीउ अभाव, संस्थानले मागअनुसार मल आपूर्ति गर्न नसक्दा किसान समस्यामा

मोरङमा  मल र बीउ अभाव, संस्थानले मागअनुसार मल आपूर्ति गर्न नसक्दा किसान समस्यामा

विराटनगर, २० मङ्सिर ।  धान भित्र्याएसँगै हिउँदे बालीको तयारीमा रहेका मोरङका किसानलाई मलको अभाव भएको छ । किसानहरू अहिले गहुँ, तोरी, फापर, मकै र आलु जस्ता हिउँदे बाली लगाउन खनजोतको काममा व्यस्त छन् । तर, समयमै मल र बीउ नपाएको उनीहरूको गुनासो छ ।

सरकारले मल पर्याप्त उपलब्ध भएको बताए तापनि मोरङमा भने यसको अभाव देखिएको हो । धान रोप्ने बेला युरिया मल अभाव हुने र गहुँ छर्ने सिजनमा डीएपी मल नपाइने समस्या रहेको मोरङ कटहरीका कृषक नकुल मण्डलले बताए । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले मलको आयात र विक्रीवितरण गर्दै आएको छ । यी संस्थानले मागअनुसार मल आपूर्ति गर्न नसक्दा किसान मर्कामा परेका हुन् ।

दैनिक १ सय बोरा डीएपी मलको माग रहेकोमा कम्पनीले हप्तामा १ सय बोरा मात्र दिने गरेको कटहरी गाउँपालिकास्थित राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाको मल विक्रीकेन्द्र प्रमुख राजु राजवंशीले बताए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले भने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको दाबी गरे । प्रदेश सरकार ‘प्रादेशिक मल नीति’ बनाउन लागिपरेको भन्दै उनले तत्काललाई मल विक्री वितरणमा समन्वय अभाव हुन सक्ने बताए ।

सङ्घीय सरकार मातहत रहने साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा छन् । यी दुई संस्थानले प्रदेशअन्तर्गत कृषि ज्ञानकेन्द्रको मागका आधारमा मल विक्री वितरण गर्दै आएका छन् । स्थानीय निकायको सिफारिशको आधारमा मल उपलब्ध गराइने र विक्रीको प्रतिवेदन लगायत जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ । तर, सरकारी निकायबीच समन्वयको अभाव र ऐन कानून निर्माणमा ढिलाइले किसानले भने समयमै मल, बीउ पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्