मुलुकभरि चिसो बढ्यो ,अझ चिसो बढ्ने सम्भावना

मुलुकभरि चिसो बढ्यो ,अझ चिसो बढ्ने सम्भावना

काठमाडौँ, मङ्सिर २० गते ।

वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको बताउनुभयो । उहाँले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको बताउनुभयो । यो साता उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार काठमाडौँ उपत्यकाका अधिकतम तापक्रम २० डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस र बुधबारको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।
विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

महाशाखाका मौसमविद् अर्यालले पश्चिमी हावाको प्रभाव तथा लामो समयदेखि पानी नपरेका कारण बढ्दै गएको वायु प्रदुषणले यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान रहेको बताउनुभयो । असोजदेखि (पोष्ट मनसुन) यता मुलुकको कुनै पनि भूभागमा पानी नपरेकाले हावामा धुलोको कण बढ्दै गएकाले समेत अझ चिसो बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आकाशमा बादल लागे पनि हावामा आवश्यक पानीको मात्रा नभएकाले पानी पर्न नसकेको उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्