आजबाट सौर्य एयरलाइन्सको सम्पूर्ण उडान रोक्का

आजबाट सौर्य एयरलाइन्सको सम्पूर्ण उडान रोक्का

काठमाडौं मङ्सिर २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बिहीबार (आज) बाट रोकेको छ । सौर्यले विमानस्थललाई तिर्नुपर्ने बक्यौता ३ करोडभन्दा माथि पुगेपछि विमानस्थल व्यवस्थापनले आजबाट उसको उडान रोकेको हो ।
त्रिभुवन विमानस्थल व्यवस्थापनले सौर्यलाई लामो समयदेखि बक्यौता चुक्ता गर्न भन्दै आएको थियो । यसअघि गत कात्तिक तेस्रो साता एक साताको म्यादसमेत दिएको थियो । तर पनि सौर्यले बक्यौता भुक्तानीमा अटेर गर्दै आएको थियो । बीचबीचमा विमानस्थलले सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै समेत आएको थियो ।
“बक्यौता चुक्ता गर्न सौर्यलाई धेरै पटक आग्रह गर्यौं तर उसले आलटाल गर्दै आयो,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहीबार भने, “केही सीप नलागेपछि आजबाट उसका सबै उडान रोकेका छौं । अब हामीले तोकेको न्यूनतम रकम भुक्तानी नगरेसम्म उसका जहाज उड्न दिँदैनौं ।”
विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले ३ करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता गर्न बाँकी छ । झन्डै एक वर्षदेखिको यो बक्यौता चुक्ता गर्न ताकेता गरिए पनि सौर्यले आलटाल गर्दै आएको छ । सौर्यसँग हाल सञ्चालनमा रहेको ५० सिट क्षमतायुक्त एकथान जहाज अहिले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा  छ । 
सौर्यसँग दुइटा जहाज भए पनि पछिल्लो समयदेखि त्यही एउटामात्र उडिरहेको थियो । सौर्यले एउटा जहाजमार्फत् काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गरिरहेको थियो ।
कूल बक्यौतामध्ये कम्तिमा २० देखि २५ लाख रुपैयाँ तुरुन्त चुक्ता गरेमात्र सौर्यलाई पुनः उडान गर्न दिने महाप्रबन्धक क्षेत्रीले बताए । त्यति रकम चुक्ता गरे केही दिनमात्र उडान गर्न पाइने उनको भनाइ छ ।

“सौर्यका अधिकारीहरू हाम्रो सम्पर्कमै छन्,” विमानस्थल महाप्रबन्धक क्षेत्रीले भने, “बक्यौता चुक्ता गर्न रकमको व्यवस्था गर्दैछौं भनेका छन् र आउने सोमबारसम्ममा केही रकम चुक्ता गर्ने जानकारी दिएका छन् ।”
विमानस्थलका अनुसार २०७४ यता सौर्यको बक्यौता करिब ४ करोडभन्दा माथि थियो । बारम्बारको ताकेतापछि उसले किस्ता–किस्तामा गरी १ करोड ७० लाख रुपैयाँ तिरे पनि अझै ३ करोडभन्दा बढी बाँकी राखेको छ । त्यसपछि पुनः ताकेता गरे पनि रकम चुक्ता गरेको छैन ।
त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेबापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी रहेको छ । यसमा विलम्ब शुल्क पनि जोडिएको छ ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।
२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो । कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज एकथान ल्याएपछि त्यही वर्ष मंसिर १ बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० साउन तेस्रो साता मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा वा अन्य सहरी गन्तव्यमा आधार गर्न पाउने गरी अनुमति पाएको थियो । सौर्यले सुरुमा ३४ सिट क्षमताको ‘डोर्नियर–३२८’ सिरिज एउटा र ३५ सिटे ‘एसएबी–३४०बी’ सिरिजको एउटा जहाजबाट उडान गर्ने योजना बनाएको थियो ।
सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो । उसले २०७३ फागुन अन्तिम साता दोस्रो सिआरजे–२०० सिरिजको जहाज ल्याएको थियो ।
त्यसयता निरन्तर दुई जहाजबाट नियमित उडान गरिरहेको सौर्यको हाल एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । एउटा जहाजबाट सीमित गन्तव्यमा सेवा दिइरहेको सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीलगायतको समूहले करिब ६७ करोड रुपैयाँमा खरिद गरेको थियो । लामो समय घाटामा सञ्चालन भएपछि पुरानो व्यवस्थापनले कम्पनी अधिकारीको समूहलाई बिक्री गरेको थियो । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्