केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण शुरु

केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण शुरु

विराटनगर, २० मङ्सिर  । माेरङ्गको केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य अघि बढाएको छ।मोरङ्गको उत्तरी पहाडी क्षेत्र र तराई भूभागको मध्यमा पर्ने गांउपालिकामा सर्पको बिगबिगी बढेसँगै गाउँपालिकाले वडा नम्बर ६ याङशिलामा उपचार केन्द्रको निर्माण कार्य सुरु गरेको हो। उपचार केन्द्रका लागि सोही क्षेत्रमा अवस्थित नेपाली सेनाको कालीशक्ति गणले प्राविधिक रुपमा सहयोग गर्ने भएको छ।५८ लाख रुपैयाको लागतमा निर्माण हुने केन्द्र आउँदो बैशाखबाट सञ्चालनमा ल्याउने लक्ष्य गांउपालिकाले लिएको छ।

गांउपालिकाको अधिकांश भूभाग चारकोसे झाडीले घेरिएको गांउपालिकामा सर्पले विगतमा सर्वसाधारणलाई दुःख दिदैं आएको गांउपालिका अध्यक्ष रोहित कार्कीले बताए। विगत केही वर्षअघिसम्म सो क्षेत्रमा वर्षेनि ३ जनासम्मको मृत्यु सर्पको टोकाइबाट हुने गरेको बताएका अध्यक्ष कार्कीले भने, “स्थानीयतह नहुदा“ केन्द्र बनाउन सकिएको थिएन, अब उपचारका लागि धेरै टाढा गइरहनुपर्ने बाध्यता हटाउनेतर्फ लागेका छौ।’

केन्द्रको भवन निर्माणका क्रममा जग उठाउने कार्य अघि बढाइएको वडा नम्बर-६ का अध्यक्ष उपेन्द्र लुङ्गेलीले जानकारी दिए। केन्द्रका लागि सेनाकैतर्फबाट दुइजना स्वास्थ्यकर्मी समेत तयार भइसकेको बताएका अध्यक्ष लुंगेलीले भने, ‘औषधिलगायतमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्नेछ।”उपचार केन्द्रको निर्माणमा गाउँपालिकाले ५ लाख, गाउपालिका अध्यक्ष रोहित कार्कीले ५१ हजार, स्थानीय सारदा ढकालले २५ हजार र यूवराज भण्डारी डिजेले २२ हजार प्रदान गरेको र बाँकी रकम विभिन्‍न दाताबाट संकलन गरिने लुंगेलीले जानकारी दिए।

सर्पदङ्श केन्द्रका अध्यक्ष समेत रहेका लुङ्गेलीका अनुसार विगत दुइवर्षअघिसम्म सो क्षेत्रमा प्रतिवर्ष १० जनासम्मलाई सर्पले टोकेको घटना बाहिरिने गरेको थियो। जसको उपचारका लागि इटहरी, धरान, विराटनगर तथा झापा पुग्नुपर्ने बाध्यता रहेको थियो।मोरङ्ग जिल्लामा अवस्थित गांउपालिकाहरु मध्ये केराबारी क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो हो। यसको कुल क्षेत्रफल २ सय १९ दशमलव १३ वर्ग किलोमिटर रहेको छ। जसको अधिकांश भूभाग जंगलले ढाकेको छ।

४० हजार जनसंख्या रहेको गाउँपालिकामा उपचार केन्द्रको निर्माण भएसँगै १० वटा वडा र धरानको पानमारा, धनकुटाको ओख्रे, बुधबारे ६ नम्बरको सर्वसाधारण प्रत्यक्ष रुपमा लाभान्वित हुने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्