नेपाल आइडलबाट ‘भक्कानिँदै’ बाहिरिए अमित बराल

नेपाल आइडलबाट ‘भक्कानिँदै’ बाहिरिए अमित बराल

काठमाडौं, २२ मङ्सिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।

निकै सुमधुर आवाजमा ‘पर्खिबसँे’ बोलको गीत गुनगुनाउँदै कार्यक्रमको दैलो उघारे सुमित पाठक र दीपराज खत्रीले। शुक्रबारको कार्यक्रममा प्रतियोगीलाई साथ दिन टप ट्वान्टीभित्र परेका केही प्रतिस्पर्धी मञ्चमा उपस्थित थिए। ‘बोल बोल’ बोलको गीतमा आफ्नो प्रियलाई बोल्न अनुरोध गर्दै मञ्चमा देखा परिन् अस्मिता अधिकारी र स्वस्तिका ढकाल। उनीहरूको आवाजमा सबैजना झुमिरहेका थिए।

आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे। उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए। ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, बाहिरिँदै गर्दा उनले भने। नेपाल आइडलमा आउनुअघि विदेश जाने तयारीमा रहेका अमितले आफू र आफ्नो दाजुको सांगीतिक सपना पूरा गर्न नेपाल आइडल वरदानकै स्वरूपमा आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्