खोटाङ, २२ मंसिर । चुलोबाट उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्माकी भौलासरी राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
शनिबार दिउँसो अचानक चुलोबाट सल्किएकाे आगोले राईको घर पूर्ण रुपमा जल्दा ३ लाख बराबरको क्षति भएको छ । राईको घरमा लागेको आगो नियन्त्रणमा लिन नसकेपछि प्रहरी र स्थानीयवासीको सहायतामा नजिकका अन्य घरहरुलाई जोगाउँन सफल भएकोे वडा नम्बर–२ का वडाध्यक्ष हर्क खत्रीले जानकारी दिए ।
आगलागी पीडितलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा नम्बर–२ को वडा कार्यालयले तत्काल राहत प्रदान गरेको छ । नगरपालिकाले ३० हजार र वडा कार्यालयले १० हजार राहत प्रदान गरेको हो । आगलागी पीडितलाई वडा नम्बर –२ का स्थानीयले निर्माण गरेको विपत व्यवस्थापन कोष मार्फत पनि ५ हजार सहयोग गरिएको जनाईएको छ ।